प्रधानमन्त्री ओली र रअका प्रमुखबीच भेटवार्ता

काठमाडौं, कात्तिक ६ । प्रधानमन्त्री केपी शर्र्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ)का प्रमुख सामन्तकुमार गोयलबीच शिष्टाचार भेटवार्ता भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार प्रधानमन्त्री ओलीसँग गोयलको बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बेलुका भेटवार्ता भएको हो । भेटका क्रममा नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध खलबलिन नदिने विषयमा छलफल भएको थियो ।

सोहीअनुसार दुई देशबीच आइपर्ने समस्याको दुई पक्षीय वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा समेत छलफल भएको प्रेस सल्लाहकार थापाले जानकारी दिनुभयो । गोयलको नेपाल बसाईका क्रममा को-को नेतासँग छलफल भएको हो भन्ने गोप्य राखिएको छ । रअ प्रमुख गोयल बुधबार दिउँसो विशेष विमानमार्फत काठमाडौं ओर्लिनुभएको थियो । उहाँ बिहीबार बिहान भारत फर्किनुभएको छ ।

यता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूहरुको गोयलसँग भेट नभएको प्रष्ट पार्नुभएको छ ।