प्रचण्डका कारण पार्टी एकता गम्भीर मोडमा : शंकर पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता शंकर पोखरेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण पार्टी एकता गम्भीर मोडमा पुगेको बताउनुभएको छ ।

प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित सचिवालय बैठकमा प्रथम अध्यक्षविरुद्धमा संगिन आरोपसहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गम्भीर मोडमा पुगेको उहाँले उल्लेख गर्नुभएकाे छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहनुभएका नेता पोखरेलले यो अनुभूति सिंगो पार्टी पंक्तिले गरिरहेको सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएकाे छ ।

सचिवालय बैठकमा प्रस्तुत भएको एकल प्रस्ताव फिर्ता गर्न नेता पाेखरेलले कार्यकारी अध्यक्ष प्रण्डलाई आग्रह गर्नुभएको छ । उहाँले लेख्नुभएकाे छ – ‘म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि बैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्ता गरी एकताको मर्म अनुरुप छलफललाई अघि बढाउन हार्दिक अनुरोध गर्छु ।’ व्यक्तिगत पत्र र संस्थागत प्रस्ताव फरक विषय भएको सत्य बुझ्न पनि पोखरेलले अनुरोध गर्नुभएको छ ।

नेकपाको शुक्रबार भएको सचिवालय बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पठाएको पत्र र त्यसमा प्रचण्डले दिएको जवाफी पत्र वितरण गरिएको थियो । ओलीले पठाएको पत्रमा पार्टी एकताको लागि आउन प्रचण्डलाई आग्रह गरिएको छ ।

प्रतिउत्तरमा प्रधानमन्त्री एवं प्रथम अध्यक्षलाई एकलौटी ढंगले चलेको लगायत आरोप प्रचण्डले लगाउनुभएको छ ।