‘प्रचण्डलाई फेरि महानायक बन्ने अवसर छ’

 

८ मंसिर, काठमाडौं । युवा संघका पूर्वअध्यक्ष महेश बस्नेतको संक्षिप्त परिचय हो– पूर्वमन्त्री, नेकपाका युवा नेता अनि प्रतिनिधिसभाका सांसद । यसबाहेक उनको अर्को पहिचान पनि छ – माओवादीको खरो आलोचक ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र केपी ओली पक्ष र प्रचण्डपक्षबीच अन्तरविरोध चर्किएका बेला महेश बस्नेतको भूमिका के होला ? पक्कै पनि उनी प्रचण्ड पक्षलाई भित्तामा पुर्‍याएर एमालेको पुनर्गठन गराउन चाहन्छन् भन्ने आम मानिसको बुझाइ छ । तर, अनलाइनखबरसँग अन्तर्वार्ताका क्रममा सांसद बस्नेत अलि भिन्नैरुपमा प्रस्तुत भए ।

सद बस्नेतले अब प्रचण्ड र माधव नेपालले उच्च स्तरको समझदारी गरेर पार्टीलाई बचाउनुपर्ने बताए । ओली पक्षबाट माधव नेपाललाई अलि बढी नै पेलिएको उनले स्वीकारे । साथै, अब केपी ओलीले प्रचण्डको पत्रको व्यक्तिगत जवाफ दिनतर्फ लाग्नु उपयुक्त नहुने पनि उनले बताए ।

‘मेराबारेमा धेरै भ्रमहरु हुन्छन् । तर, समय र तथ्यहरुले खण्डन गर्दै लगेको छ । पार्टी विभाजन गर्नुपर्छ र प्रचण्डलगायतको टीमलाई निष्काशनकै तहमा जानुपर्छ भनेर मैले कहिल्यै पनि भनेको छैन’ बस्नेतले अनलाइनखबरसँग भने, ‘मैले त केपी ओलीपछि अध्यक्ष त प्रचण्ड नै हुनुपर्छ भन्ने आधारमा धारणा बनाइसकेको थिएँ ।’

तर, पछिल्लो बेलामा भने भेडा भेडासँग, बाख्रा बाख्रासँग भनेजस्तै पूर्वएमालेहरु नै एक ठाउँमा बसेपछि मात्रै यो मुभमेन्ट चल्छ कि भन्ने ठाउँमा आफूसहित धेरैजना पुगेको बस्नेतले बताए । यद्यपि पार्टी विभाजन गर्दा कसैलाई फाइदा नहुने भएकाले आफू विभाजन हुनुपर्छ भन्ने निश्कर्षमा नपुगेको उनले बताए ।

‘समग्र राजनीतिक विश्लेषणका आधारमा भन्दा स्वाभाविक प्रक्रियाबाट जाँदा कम्युनिस्ट आन्दोलनको हित हुने र प्रचण्ड कमरेड कम्युनिस्ट आन्दोलनको महानायक बन्ने अवसर फेरि पनि छ’ बस्नेतले अगाडि भने, ‘केपी कमरेडले आउँदो महाधिवेशनमा नेतृत्वको दाबी नगरेको सन्दर्भमा प्रचण्ड र माधव नेपाल कमरेडको बीचमा बन्ने उच्च तहको सहकार्यले नै मुलुकको भविष्य र कम्युनिस्ट आन्दोलन पनि बचाउँछ ।’

प्रस्तुत छ केपी ओली पक्षका नेता बस्नेतसँग अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंश–

आपसमा झगडा गरिराख्नुभन्दा पूर्वएमाले र पूर्वमाओवादी आ–आफ्नो बाटो लागौं भन्ने तपाईंको लाइनमा अहिले प्रधानमन्त्री केपी शर्मा ओली पनि आइपुग्नुभएको हो ?

यसलाई दुई कोणबाट व्याख्या गर्छु । सैद्धान्तिक पक्षमा हामी दुई पार्टी किन एक भयौं भन्नेमा जानुपर्छ । माओवादीले सशस्त्र जनयुद्धको माध्यमबाट क्रान्ति गर्न सकिन्छ भन्ने कुरालाई टुंगोमा पुर्‍याएन भन्ने मेरो निष्कर्ष छ । दोस्रो, जातीय आधारमा समाजलाई विभाजित गरेर जातीय मुक्ति नै समग्र एजेण्डा हो भन्ने निष्कर्षमा ऊ सफल भएन । तेस्रो कुरा, रणनीतिक हिसाबले २०६२/६३ को आन्दोलनपछि माधव नेपाल नेतृत्वको सरकारलाई सहरी विद्रोहबाट ढाल्न माओवादी असफल भयो ।

एमाले जनताको बहुदलीय जनवादको मार्गदर्शनबाट अगाडि बढ्यो । तर, अनेकखालका जालझेल र तिकडमलाई चिर्न सकेन । जसका कारणले एमाले पहिलो पार्टी हुने कुरा नै उसका लागि दबावको विषय बन्यो । तर, जब, माओवादीले २०६४ सालको निर्वाचनमा ३३ प्रतिशत भोट ल्यायो । ७० सालमा १७ प्रतिशतको हाराहारीमा आयो र ७४ सालको निर्वाचनमा १३ प्रतिशतमा झर्‍यो । एमालेका हिजोका भ्रमहरु र तिकडमहरु चिरिँदै गयो । यसको मतलब के हो भने माओवादी घट्दो हुँदै तेस्रो पोजिसनमा गयो ।

त्यसो हुनाले यी दुई दलबीचको एकता अनिवार्य थियो । तर, एकता पछाडि के भयो भने दुईवटा डरले काम गर्‍यो । माओवादीलाई भोलि दीर्घकालसम्म एकता भएन भने छुट्टिन पाउने अधिकारसहित एकता हुनुपर्छ भन्यो । त्यसो भएकाले हरेक ठाउँमा उसले ४० प्रतिशत माग गर्‍यो । तर, वस्तुगत यथार्थको कुरा गर्ने हो भने गठबन्धनमा पनि समानुपातिक भोटमा एमालेले दुई तिहाइ ल्यायो । अनि, एकता भयो । अहिलेसम्म नभएको ठूलो कम्युनिस्ट पार्टी बनाऔं । तर, कमिटी र जनताको बीचको सन्तुलन मिलेन । जनतामा एमालेप्रति बढी आकर्षण छ । त्यसमा पनि केपी ओलीको कारणले यस्तो भयो भन्ने जनताको बुझाइ छ । तर, माथिल्लो कमिटीमा प्रचण्ड कमरेडले एमालेभित्रको गुटबन्दीलाई खेल्न सक्दा उहाँको पक्षमा मूलतः केन्द्रीय कमिटी र स्थायी कमिटीमा बहुमत भयो । योबीचबाट अन्तरविरोध प्रकट भएको छ, कुनै सैद्धान्तिक कारणले होइन । अब एकताको महाविधेशनसम्म पुग्ने हो । पार्टी प्रक्रियाको मूल भाव पनि यही हो ।

हामी युवा पुस्ताले केपी ओलीलाई किन समर्थन गर्‍यौं भने उहाँले आउँदो महाधिवेशनबाट अध्यक्ष पनि हुन्न र प्रधानमन्त्री पनि हुन्न भन्नुभएको छ । यो निकै उत्साहको खबर हो । यही कुरा आज किन प्रचण्ड र माधव कमरेडले भन्न सक्नुहुन्न ? भन्ने नयाँ बहस युवा पंक्तिमा देखिन्छ ।

प्रचण्ड कमरेडले केपी कमरेडलाई अनेक आरोप लगाउने र केपी ओलीले जवाफ फर्काउने अनि भोलि दुवैथरी मिलेर चुनावमा जानुपर्ने अवस्था हुन्छ । त्यसलाई मिलाउनेतिर जानुपर्छ ।

कल्पना गरौं– अमेरिकामा वाइडनले किन आज यस्तो मत प्राप्त गरे ? यदि, फेरि उम्मेद्वार बन्न पाउने वैधानिक हैसियत भएको भए बाराक ओबामाहरुले उमेरले पनि हामी साना छौं र लोकप्रियता पनि हाम्रै छ । त्यही भएर हामीलाई राष्ट्रपति दिनुपर्छ भन्ने हुन्थ्यो होला । तर, हाम्रोमा भने प्रधानमन्त्रीको धेरै समय पूर्वप्रधानमन्त्री र पूर्वअध्यक्षहरुको व्यवस्थापनमा गइरहेको छ । अब उहाँहरुको व्यवस्थापन भनेको कि प्रधानमन्त्री बनाउनुपर्‍यो कि अध्यक्ष दिनुपर्छ । यो कुरा आजको वस्तुगत अवस्थामा सम्भव छैन । त्यसोभएको हुनाले तत्कालीन एमाले र माओवादीको ठूलो पंक्तिचाहिँ अहिलेको जस्तो ल्याङल्याङ गर्नुभन्दा विभाजित होऔं र आ–आफ्नो कर्म गरौं भन्ने छ । राम्रो कुराको आशा गर्ने, तर नराम्रो आयो भने पनि सामना गर्ने भनेर हामी अगाडि लागेका छौं । मेरो व्यक्तिगत धारणाचाहिँ पार्टी विभाजित होओस् भन्ने छैन ।

एमाले र माओवादीबीच एकता नै गर्नुहुँदैनथ्यो भन्ने तपाईंको निष्कर्ष हो कि होइन ?

एकता हुनुहुँदैन भन्ने मेरो निष्कर्ष होइन । मेरो निष्कर्ष माओवादीलाई जनताले गरेको ‘इग्नोरेन्स’ र उसले प्राप्त परिणामलाई स्वीकार गर्न सकेको थिएन, जसका कारणले आक्रमणको नीति लियो, त्यसको प्रतिरोध हामीले युवा संघको नेताका रुपमा गर्‍यौं । त्यसैकारणले माओवादी र हाम्रो सम्बन्ध तिक्ततापूर्ण हुन पुग्यो । त्यो स्वभाविक नै थियो । मदन भण्डारीको चेलो भएर भन्दा राजनीतिमा स्थायी शत्रु त हुँदैन । एकता प्रक्रियापछाडि के निष्कर्ष निकाल्यौं भने हामी दुई कम्युनिस्ट सगोत्री थियौं । सगोत्रीबीच हिजो अंशको झगडा थियो, एकतापछि हाम्रो अन्तरविरोध सकियो भन्ने निष्कर्ष निकाल्यौं ।

मैले त केपी ओलीपछि अध्यक्ष त प्रचण्ड नै हुनुपर्छ भन्ने आधारमा धारणा बनाइसकेको थिएँ । मैले प्राप्त गरेको सूचनामा पनि त्यो देखिएको थियो । तर, पछिल्लो बेला भने भेडा भेडासँग, बाख्रा बाख्रासँग भनेजस्तै पूर्वएमालेहरु नै एक ठाउँमा बसेपछि मात्रै यो मुभमेन्ट चल्छ कि भन्ने ठाउँमा मसहित धेरैजना पुगेका छौं । आन्तरिकरुपमा भन्दा केपी कमरेड र माधव कमरेडलाई एक ठाउँमा ल्याउने पहल गर्नुपर्ने निष्कर्षमा छौं ।

पार्टी विभाजन गर्नुपर्छ भन्ने निष्कर्षमा चाहिँ तपाईं पुगिसक्नुभएको छैन ?

धेरै साथीहरुले यस्तो भन्छन् । कतिसम्म भने अहिले छुट्टा–छुट्टै बैठकहरु तलतल बसिरहेका छन् । अब पार्टी फुट्दैछ, तयारी गर्दै गर भन्ने सर्कूलर भइसकेको सूचना पाएका छौं । एउटा टीमको बैठक अर्को टीमलाई थाहा नहुने ढंगले पनि बसेका छन् । अथवा, कुनै तल्ला कमिटीले डाकेको बैठकमा पनि अनुपस्थित हुने कुरा तलतलसम्म जान थालेको छ । यो एकदम विडम्वनापूर्ण कुरा हो । कतिपय साथीहरुलाई त्यो लाग्न सक्छ, तर, वस्तुगत कारणले विभाजन गर्ने कुरा धेरै गाह्रो छ । त्यसैले विभाजन हुँदैन भन्ने भित्री मनमा लाग्छ । विभाजन गर्नु पनि हुँदैन ।

उसोभए, पार्टीभित्र देखिएको विवादको समाधानचाहिँ के त ?

सचिवालयमा प्रचण्ड कमरेडसहित चार नेता एकातिर हुनुहुन्छ । माधव कमरेडलाई पार्टी एकता प्रक्रिया र सरकार निर्माण प्रक्रियामा दुई अध्यक्ष मिलेर मलाई पेले भन्ने अनुभूति छ । त्यो स्वाभाविक अनुभूति पनि हो । त्यस्तो भएको पनि हो । किनभने, विगतमा माधव कमरेडले पार्टीको नेतृत्व गरिरहँदा केपी कमरेडलाई साथ दिएका धेरै मान्छेहरुलाई आइसोलेसनमा पारियो भन्ने हिसाबमा केही कुरामा आग्रहहरु र तुषहरु प्रकट भएका होलान् । त्यही कारणले पनि माधव कमरेडले प्रचण्डलाई साथ दिनुपर्ने परिस्थिति निर्माण भएको होला । नारायणकाजी कमरेडले आठ/नौ महिनासम्म भेटघाट नपाएको कुरा गर्नुभएको छ । उहाँमा संस्थागत भन्दा पनि व्यक्तिगत सोच्ने कमजोरी देखियो । यसबाहेक नेतृत्वमा नपुगेका ईश्वर पोखरेल, बादल र विष्णु पौडेलहरु एकठाउँमा उभिएको देखिन्छ ।

अब वामदेव कमरेडको भूमिकाचाहिँ निर्णायक देखिन्छ । उहाँको निर्णयमा अलमल देखिएको छ । उहाँले प्रधानमन्त्रीलाई साथ दिएको अवस्थामा कम्युनिस्ट आन्दोलन एक ठाउँमा भएर जाने देखिने अनि प्रचण्ड कमरेडलाई साथ दिएको अवस्थामा विभाजित हुने तरंग पैदा हुने गरेको छ । तर, वामदेव कमरेडले दाङ पुगेर एकताको पक्षमा छु, गुटबन्दीमा छैन भनेर बोल्नुभएको छ । त्यसैले प्रचण्ड कमरेडले मात्रै चाहेर पार्टी फुट्दैन ।

प्रचण्ड कमरेड फाइदाको पक्षमा हुनुहुन्छ । माधव, झलनाथ कमरेडहरुलाई लिएर जानुभयो भने त उहाँलाई फाइदा हुने भयो । आउँदो महाधिवेशन फेस गर्ने कुरा के हो ? सदस्यताकै कुरा गर्दा पूर्वमाओवादी साथीहरुसँग न रजिष्टर छ, न लेवी प्रणाली, न कुनै रेकर्ड छ । तर, हाम्रो त सबै व्यवस्थित छ । त्यसैले नेताहरुले चाहे पनि प्रचण्डलाई महाधिवेशनमा आउने प्रतिनिधिले अध्यक्ष बनाउने ग्यारेन्टी त छैन । केपी ओली ब्याक हुनु भयो र माधव नेपाल उठ्ने परिस्थिति बन्यो भने पनि माधव नेपालले जित्ने परिस्थिति बन्छ । यो कुरा प्रचण्डले राम्ररी बुझ्नुभएको छ । त्यसैले, तीन महिना पछाडि महाधिवेशन किन कुर्ने ? अहिले नै किन नहटाउने ? अहिले विश्लेषण र संश्लेषण एउटा छ, जनमत एउटा छ भन्ने लाग्छ । अहिले पनि वामपन्थी जनमत विभाजित भएको देख्दिनँ ।

जनतामा निराशा छाएको त मान्नुहुन्छ होला नि ?

हो, जनतामा निराशा बढेको छ । त्यही भएर प्रचण्ड कमरेडलाई के लागेको छ भने आगामी दुई वर्ष पछाडि पार्टीले बहुमत ल्याउने ग्यारेन्टी छैन । अध्यक्ष बन्ने कुरा पनि के हो भन्ने लागेको छ । त्यही भएर उहाँलाई यो पार्टी विभाजन हुँदा बिल्कुल फाइदै फाइदाको विषय बनेको छ । अन्य, कमरेडहरुलाई पार्टी विभाजन ठूलो नोक्सान छ । त्यसैले यो अन्तरविरोध पार्टी विभाजनसम्म जान्छ भन्ने लाग्दैन ।

यसको अर्थ, केन्द्रीय कमिटी बैठकसम्म पुग्दा यो झगडा मिल्छ भन्ने तपाईंको दाबी हो ?

केन्द्रीय कमिटी बैठकसम्म नपुग्ला । पार्टी एकतापछि केन्द्रीय कमिटी निकै ठूलो बनाएका छौं । जनवादी केन्द्रीयतालाई आधार बनाएर छलफल त गर्न सकिएला । तर, यो विवाद स्थायी कमिटी बैठकसम्म पुग्दा पनि हल हुन्छ । अघिल्लो स्थायी कमिटी बैठकले जे निर्णय गरेको छ, त्यही स्थायी कमिटीले फरक ढंगले निर्णय गर्ने अवस्था पुगिसकेको हो भन्ने लाग्दैन । स्थायी कमिटीले नै दुई अध्यक्षले ल्याएको प्रतिवेदन साझा बनाउने र विगतको निर्णय सबैले पालना गर्ने प्रतिवद्धता गरेर कुरा मिल्ला भन्ने मेरो निष्कर्ष छ ।

तर, त्यतिखेर प्रचण्डहरुलाई बाहिरै राखेर पूर्वएमालेलाई मात्रै एक बनाउने तपाईंहरुको प्रयास पनि गलत ठहरिएला नि ?

मेरा बारेमा धेरै भ्रमहरु हुन्छन् । तर, समय र तथ्यहरुले खण्डन गर्दै लगेको छ । पार्टी विभाजन गर्नुपर्छ र प्रचण्डलगायतको टीमलाई निष्काशनकै तहमा जानुपर्छ भनेर मैले कहिल्यै पनि भनेको छैन । तर, समग्र राजनीतिक विश्लेषणका आधारमा भन्दा स्वाभाविक प्रक्रियाबाट जाँदा कम्युनिस्ट आन्दोलनको हित हुने र प्रचण्ड कमरेड कम्युनिस्ट आन्दोलनको महानायक बन्ने अवसर फेरि पनि छ । विभाजनतर्फ जाँदा क्षणिक फाइदा होला, तर मुलुक र उहाँलाई अन्ततः फाइदा हुँदैन । त्यसो हुँदा, पार्टी एकतावद्ध भएर जाने कुरामा पार्टीभित्र पनि शक्ति सन्तुलनको हिसाबमा जानुपर्छ । केपी कमरेडले आउँदो महाधिवेशनमा नेतृत्वको दाबी नगर्दा प्रचण्ड र माधव नेपाल कमरेडको बीचमा बन्ने उच्च तहको सहकार्यले नै मुलुकको भविष्य र कम्युनिस्ट आन्दोलन पनि बचाउँछ ।

केपी ओली नेतृत्वको सरकारले अघिल्लो दुई वर्षसम्म लोकप्रिय भन्दा पनि संस्थागत काम गरेको छ । मलाई लाग्छ, अब सरकार लोकप्रिय काम गर्ने मोडलमा जान्छ । किनभने, दुई वर्ष पछाडि हामीले निर्वाचनको सामना गर्नुपर्ने हुन्छ । त्यसो हुँदा उच्च तहको समझदारी गरेर यो पार्टी बचाउनुपर्छ ।

तर, अहिले पार्टीलाई जोड्ने भन्दा पनि तोड्ने गतिविधि धेरै भइरहेका छन् । पार्टी नेताले बोल्दा नाराबाजी हुन थालिसक्यो । यस्तो पाराले त कसरी एकता बच्ला ?

चितवनको घटनालाई आम घटनासँग तुलना गर्न मिल्दैन । हाम्रो समाज र कार्यकर्ताको चेतनास्तर धेरै माथि छ । समझदारीको स्तर पनि धेरै माथि छ । सभ्य पनि धेरै सभ्य छौं । १२ वर्ष अगाडि मात्रै सम्झने हो पनि हामी धेरै असभ्य थियौं । अहिष्णु थियौं । अहिले त्योभन्दा धेरै माथि छौं ।

तैपनि चितवनमा केपी कमरेड नजिक भएकाहरुलाई कमिटीविहीन बनाउनेदेखि लिएर धुलै काड्ने स्थिति छ । कतिपय जिल्लामा माओवादी ध्वस्त पारिने र पेलिने अवस्था पनि छ । कतिपय ठाउँमा पूर्वएमालेलाई ध्वस्त पार्ने काम पनि भएको छ । तर, त्यस्ता जिल्ला छिटफुट छन्, १२ जिल्ला जति होलान् । तर, आमरुपमा नेताहरुलाई सम्मान गर्ने र नेताहरुले पनि सन्तुलन नै खोज्ने छ । कसैको आधारक्षेत्रमा गएर दन्दनाएर दिनुपर्छ भन्ने ०७० सालको निर्वाचन अगाडि थियो । अहिले यो काँग्रेसको क्षेत्र भनेपछि त्यहाँ काँग्रेसलाई पनि कन्भिन्स हुने गरी बोल्नुपर्छ भन्ने कार्यकर्तामा भावना विकास भएको छ । कार्यकर्ताहरुमा आफ्नो मात्रै होइन, अरुका नेताहरुलाई समेत खुइल्याएर बोल्नुहुन्न भन्ने चेतना छ ।

चितवन संस्थापनले धेरै नै पेलाइ खाएको जिल्ला हो । त्यसमाथि सुरेन्द्र कमरेड पनि धेरै उत्साहमा आएर प्रधानमन्त्रीप्रति बढी नै आक्रोश पोख्नुभयो । सायद, अस्ति अर्थमन्त्रीबाहेक अरु मन्त्री बन्दिनँ भन्ने तुष केही न केही रहन्छ । त्योभन्दा पहिले त पार्टी एकताको पक्षमा महत्वपूर्ण भूमिका खेल्नुभएको हो । त्यहाँ कुनै योजनावद्ध नभएर केही साथीहरुले नारा लगाउनुभयो ।

यसको अर्थ, अब केन्द्रको विवाद तलसम्म जाने र कुटाकुटकै तहसम्म पुग्छ भन्ने देख्नुहुन्न ?

कहिलेकाँही आवेशले प्रेरित घटना हुन्छ । जस्तो– हत्याका पनि विभिन्न प्रकार हुन्छन् । कोही कर्तव्य ज्यान, कोही आवेश उत्प्रेरित हत्या, कोही भवितव्य हुन्छ । कोही दुर्घटना हुन्छ । यस्तै चितवनको पनि आवेश प्रेरित घटना हो । अस्ति लुम्बिनी प्रदेशको राजधानी तोक्ने कुरामा बुटवलमा जस्तो आक्रोश पोख्ने काम भयो, त्यो पनि आवेशले भएको हो । बुटवलको घटना सामान्य भयो । यो घटनालाई पनि मौका पाइयो, अब यहीँ टेकेर अगाडि बढ्यौं भने त जहाँ पनि जान सकिएला । तर, यसलाई त्यसरी लैजानुहुँदैन । साथीहरुलाई बुझाउने विधिमा जानुपर्छ । हामीले पनि सम्झिनुपर्ने कुरा भनेको राजनीतिक–वैचारिक बहस त गर्नुछ, तर तेजोबोध गर्नेगरी नेताहरुको आलोचना गर्ने सभ्यता र संस्कार हाम्रो होइन ।

तपाईं केपी ओलीसँग निकट युवा नेता मानिनुहुन्छ । उहाँसँग भेट्दा प्रचण्ड, माधव नेपालसहित सबैलाई मिलाएर अगाडि बढ्नुपर्छ भनेर सुझाव दिनुहुन्न ?

सबैलाई चित्त बुझाउने कुरा नै एकदम जटिल छ के ! त्यसमा पूर्वप्रधानमन्त्री र पूर्वअध्यक्षलाई चित्त बुझाउने कुरा त झन् जटिल विषय हो नि । मैले अघि पनि भनें प्रधानमन्त्रीसँग हामीले धेरै कुरा गरेका छौं । प्रधानमन्त्री पनि धेरै विषयमा छलफल गर्न तयार हुनुभएको छ । विगतको तिक्तताहरुलाई आधार मानेर विश्वासको वातावरणचाहिँ बनेको छैन । तपाईंले बोलेको कुरामा के विश्वास भन्ने वातावरण बनेको छ । बीचमा फेरि यति धेरै भ्रम र उचाल्ने काम गरिएको छ, त्यसै कारण नेताहरुबीचमा असमझारी बढेको छ । तर, आजको परिस्थितिमा प्रधानमन्त्री पेलेर जाने, सबैलाई माइनस गरेर जाने भन्नेमा हुँदै हुनुहुन्न । पार्टी एकता प्रक्रियामा प्रचण्ड र केपी ओली धेरै बसे, कुरा गरे भन्ने तहसम्म हामीले कुरा गर्‍यौं । योबीचमा माधव कमरेडलाई जति स्पेस दिनुपथ्र्यो, त्यो दिइएन । हामीले स्वीकार्नै पर्छ । अब त्यही कमजोरीलाई टेकेर आज प्रचण्ड कमरेडले माधव कमरेडलाई समेट्न खोज्नुभएको छ ।

सचिवालयभन्दा तलका नेताहरु अहिले पनि एकता जोगाउनुपर्छ भन्नेमै हुनुहुन्छ । नेताहरुसँग निकट भएर आफ्नो भविष्य देखेका, लाभ प्राप्त गरेका, अर्काको कुरा लगाएर रमाइरहेका साथीहरु विभाजनको पक्षमा लागेका होलान् । तर, आमरुपमा त्यस्तो छैन ।

यी तीनैखालको शक्तिका बारेमा मसिनो बुझाइ भएकाले पार्टी एकता कायमै रहन्छ भन्नेमा विश्वास छ । प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्नेदेखि स्थायी कमिटीले दिएका सवै एजेण्डाहरुलाई कार्यान्वयन गर्नेगरी सुझाव दिनुहोस्, भनेर पटक–पटक भनिरहनुभएको छ । अब, नबस्दा बसेन भन्ने आरोप लाग्ने, अनि बस्दा के गर्‍यो, आश्वासन दियो भन्ने आरोप लाग्ने गरेको छ । तर, प्रधानमन्त्रीको मुड चाहिँ पेलेर जाने भन्ने छैन ।

तपाईं स्थायी कमिटी सदस्य त होइन, तर चुपचाप बस्ने मान्छे पनि होइन । अहिले नेकपाभित्र ‘अन्डर करेन्ट’ के भइरहेको छ ?

पहिलो कुरा त एकले अर्कालाई खुल्याउनेतिर नजाऔं भन्ने हो । वामदेव कमरेडले भावुक ढंगले कुरा राख्नुभएको सुनेँ । आज प्रचण्ड कमरेडले केपी कमरेडलाई अनेक आरोप लगाउने र केपी ओलीले जवाफ फर्काउने अनि भोलि दुवैथरी मिलेर चुनावमा जानुपर्ने अवस्था हुन्छ । त्यसैले राजनीतिक पत्रका नाममा फिराद पत्र जस्तो जुन प्रस्तुत भएको छ, त्यसलाई वकिलको जस्तो वकालत गर्ने मोडेलमा होइन कि मिलाउनेतिर जानुपर्छ । त्यो दुईवटा पत्र मिलाउनेतिरै…

प्रधानमन्त्रीले प्रचण्डको जवाफमा अर्को पत्र तयार पार्ने भन्नुभएको छ । तपाईंको सुझाव चाहिँ यसलाई रोक्नुपर्छ भन्ने हो ?

सैद्धान्तिक र वैधानिक व्यवस्थाले पनि राजनीतिक प्रतिवेदन अध्यक्षबाहेक अरुले लेख्न पाउँदैन । हामीसँग दुई अध्यक्ष भएकाले दुई अध्यक्षको संयुक्त प्रतिवेदन आउनुपर्छ । कि, अर्को अध्यक्षको सहमतिमा आउनुपर्छ । यो विधि त प्रचण्ड कमरेडको प्रतिवेदनले पालना गरेन । तर, केपी कमरेडको प्रतिवेदन पनि आरोपलाई खण्डन गर्ने भन्दा पनि समग्र मुभमेन्टको विश्लेषणसहित आउनुपर्छ भन्ने लाग्छ । त्यहाँ देश, परिस्थिति, आगामी महाधिवेशन, सरकारको प्रभावकारिता, विगतका कमजोरीको समीक्ष सहित समेटेर प्रतिवेदन ल्याउनुपर्छ । त्यसपछि दुवै अध्यक्षको प्रतिवेदन एउटै बन्ला भन्ने लाग्छ । यसका लागि हामीले आ–आफ्नो ठाउँबाट भूमिका खेलेका छौं । अर्काेचाहिँ कहाँ–कहाँ सकिन्छ, माधव कमरेडहरुलाई थप भूमिका दिनुपर्छ । एउटा उच्च तहको समझदारीसहित नरम–करम मिलाउने हो भने धेरै विषय हल हुन्छ ।

तर, मंसिर १३ को सचिवालय बैठकमा प्रचण्डको प्रतिवेदनको जवाफ दिने भनिएको छ । स्थिति तपाइँले भनेजस्तै होला र ?

पार्टी एकता प्रक्रिया भंग नहोस् भन्ने हाम्रो चाहना हो । प्रचण्ड कमरेडले अरु कमरेडहरुसँग मिलेर केपी कमरेडलाई परास्त गर्ने, आरोप लगाउने र पदच्युत गर्ने मोडालिटीमा जानुभयो पार्टी एकता भंग भयो । अथवा, केपी कमरेडले पनि फेरि प्रचण्डलाई आक्रमण गर्ने स्थितिले पनि एकता भंग भयो । आज बहुमत भन्यो भने भोलि केपी कमरेड हटाऔं भने पनि फेरि अर्को घेराबन्दी बनिहाल्छ । बरु, पदलोलुपतालाई अन्त्य गर्न संविधान संशोधन गरेर कुनै पनि नेताले दुईपटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्ने कि ? हाम्रो आउँदो महाधिवेशनमा कुनै पनि नेता दुई कार्यकालभन्दा बढी अध्यक्ष हुन नपाउने व्यवस्था गर्ने कि ? ७० सकिँदैन भने ७५ वर्षभन्दा माथिका नेतालाई अध्यक्ष नदिने भन्ने कि ? अथवा, प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीको मोडेलमा जाने गर्दा राजनीतिक स्थिरता हुन सक्ला कि ?

तपाईंले नेकपा विभाजन हुँदैन त भन्नुभयो । तर, नेताहरुले मान्दै मानेनन् भने तपाईंजस्ता युवाले खेल्ने भूमिका कस्तो होला ?

पार्टीको जति तल्लो तहमा जान्छौं, त्यति एकताको पक्षमा जनमत छ । यो कुरा नेताहरुले बुझ्नुपर्छ । सचिवालयमा त्यो कुरा छैन होला । केन्द्रीय कमिटीमा त्यसपछि घटेको होला । जति तल गयो, त्यति विभाजनको पक्षमा मत छैन । जनताले पनि त्यो चाहेका छैनन् । जस्तो– केपी ओली सरकारमा हुँदा आलोचना हुने गर्छ । तर, सरकार ढल्छ भन्नेखालको अभ्यास हुन थाल्छ । केपी ओलीको विकल्प के त ? केपी ओली असफल भए को त ? भन्ने प्रश्न त हामीले मिडियामै हेरिरहेका छौं नि । यसको मतलब, नेपाली जनता अस्थिरताको पक्षमा छैनन्, स्थिरताको पक्षमा छन् । यो पार्टी जोगाउने पनि कार्यकर्ताले नै हो, आम जनताले नै हो । जनता र कार्यकर्ताको भावना जुन नेताले बुझ्छ, ऊ भविष्यसम्म नेता बन्छ । नबुझ्ने सकिन्छ । कम्युनिस्ट आन्दोलनमा धेरै नेता सकिएर गएका छन् ।

सचिवालयभन्दा तलका नेताहरु अहिले पनि एकता जोगाउनुपर्छ भन्नेमै हुनुहुन्छ । नेताहरुसँग निकट भएर आफ्नो भविष्य देखेका, लाभ प्राप्त गरेका, अर्काको कुरा लगाएर रमाइरहेका साथीहरु विभाजनको पक्षमा लागेका होलान् । तर, आमरुपमा त्यस्तो छैन ।

पार्टी विभाजन नहुनेमा तपाईं ढुक्क हुनुहुन्छ ?

माधव कमरेड र वामदेव कमरेडको अभिव्यक्ति सुनिरहेको छु । उहाँहरुको नजिकका साथीहरुसँग कुराकानी पनि गरिरहेको छ । बरु, यो बीचमा प्रचण्ड कमरेडतर्फका साथीहरुसँग थोरै ग्याप भएको छ । यो समग्र हेर्दा सचिवालयले नै विषयवस्तु टुंग्याउँछ, नत्र स्थायी कमिटीसम्म टुंगिन्छ र केन्द्रीय कमिटीसम्म विवाद आइपुग्दैन । दुई अध्यक्षको एउटै धारणा जान्छ ।

महाधिवेशन तोकिएकै समय (चैतमा) होला जस्तो लाग्छ ?

महाधिवेशन तोकिएको समयमा गर्नैपर्छ । ठूलो पार्टी हो, हामीसँग शक्ति छ । जति चाँडो महाधिवेशन गर्छौं, त्यति चाँडो हामी शुद्धतातिर जान्छांै । अर्कातिर निर्वाचन पनि धेरै टाढा छैन । अहिले हामी कमिटी विहीनताको फाइदा अराजक तत्वहरुले उठाइरहेका छन् । केन्द्रीय कमिटी बैठकबाट महाधिवेशनको ढोका खोल्नुपर्छ । कार्यसूची बनाउनुपर्छ । पार्टीभित्र बैचारिक बहस अब खुला गरिनुपर्छ । जबज, जनताको जनवाद अथवा एक्साइसौं शताब्दीको जनवाद के हो भन्नेमा बहस गरिनुपर्छ । यसो हुनासाथ हाम्रो बहस सैद्धान्तिक–वैचारिक विषयमा केन्द्रित हुन्छ ।

अनलाइनखबर