जीवन जिउने साँचो कला : कर्म र ज्ञानकाे याेग

 

– डा. अजय रिसाल

श्रीमद्भगवद्गीताको पहिलो अध्यायमा विषादग्रस्त अवस्थामा अनेक तर्कहरूद्वारा ‘युद्ध गर्नु महापाप हो’ भन्ने सिद्ध गर्न खोजेका, अनि युद्धक्षेत्रबाट करिब-करिब पलायन नै हुने मनस्थिति बनाएका अर्जुनलाई दोस्रो अध्यायभरि नै विभिन्न तर्कहरूको माध्यमबाट युद्धमार्गमा पुनः प्रवृत्त गराउने प्रयास गर्दछन् श्रीकृष्ण ।

त्यस क्रममा ऐतिहासिक रूपमा नै महान् कुरुकुलका राजकुमार अनि धर्मानुगामी पाण्डवपक्षका योद्धा भएको नाताले अर्जुनले आफ्नो कुलधर्म अनि ‘सत्य र न्यायको पक्षमा हतियार उठाउनसमेत पछि पर्न नहुने’ क्षत्रीय परम्पराको अनुसरण गरेरै पनि युद्धमा लाग्नैपर्ने कर्ममार्गको कर्तव्यबोध गराउँदछन् श्रीकृष्ण ।

फेरि आत्मज्ञानले ओतप्रोत भई आफू (आत्मा) लाई चिन्न सक्ने स्थितप्रज्ञ व्यक्ति नै ज्ञानी बन्न सक्ने अनि शान्ति या मोक्षरूपी ‘प्रसाद’ को अधिकारी रहने भन्दै ज्ञानमार्गको श्रेष्ठताको उपदेश दिएर दोस्रो अध्यायको समापन गर्दछन् श्रीकृष्ण ।

यी सबै श्रीकृष्णका विचारहरू श्रवण गर्ने क्रममा अर्जुनमा रहेका विषादका लक्षणहरू शनैः शनैः हराउँदै गएको अनि उनी प्रश्नोत्तर या वार्तालापतर्फ उत्साहित भएको दृष्टिगोचर हुन्छ । यही नै त हो मनोचिकित्साको वास्तविक आधार ! विज्ञसँगको कुराकानी, तिनको विश्लेषणात्मक अभिव्यक्ति अनि तर्कपूर्ण तथा समानुभूतिमय प्रस्तुतिले नै मनोरोगीहरूमा विश्वासको आधारशिला निर्माण गर्दै तिनका विषाद, अवसाद, उदासीनता आदि सबै मानसिक रोग या तिनका लक्षणहरूको निराकरण हुने मार्गप्रशस्त गर्दछ ।

पूर्वीय संस्कृति अनि हाम्रो सनातन धर्ममा वादविवाद या शास्त्रार्थको ठूलो स्थान छ । गुरु–शिष्य, भगवान्–भक्त, ऋषिजन–राजा, पति–पत्नी या सर्वसाधारणहरूबीचको आपसी सवालजवाफलाई नै पनि सधैँ प्रोत्साहित गरी तिनै प्रश्नोत्तर या वार्तालापमा नै आधारित हाम्रा सबै शास्त्रहरूले सबै लोकको कल्याण गर्ने महान् उद्देश्य लिएका छन् ।

भनिएको नै छ : वादे वादे जायते तत्त्वबोधः । सोही मुताबिक गीतामा पनि अर्जुनका सबै किसिमका प्रश्नहरूको सटिक जवाफ दिएर उनमा रहेको विषाद, दुविधा, शंका सबै हटाई उनलाई स्वःस्फुर्त रूपमा नै आफ्नो कर्तव्यबोध गराउने प्रयत्न छ श्रीकृष्णको ।

तेस्रो अध्यायको प्रारम्भदेखि नै अर्जुनमा रहेको शंका या दुविधाग्रस्त मनस्थिति जिज्ञासाको रूपमा प्रस्फुटित भएको हामी पाउँदछौँ । दोस्रो अध्यायभरि श्रीकृष्णले कर्ममार्गका लागि गरेका अभिप्रेरणा अनि अध्यायको उपसंहारमा उनैले दिएका ज्ञानमार्गका उपदेशहरू परस्पर विरोधी मान्दछन् अर्जुन । अर्जुन भन्दछन्:

‘ज्यायसी चेत्कर्मणस्ते मता बुद्धिर्जनार्दन ।
तत्किं कर्मणि घोरे मां नियोजयसि केशव’ ।। भ.गी.३(१)।।

अर्थात्, हजुरको विचारमा यदि कर्मभन्दा ज्ञान नै श्रेष्ठ हो भने मलाई यो भयंकर युद्धकर्ममा लाग्ने प्रेरणा किन दिनुहुन्छ अहिले ?

अझ दोस्रो श्लोकमा त ‘यस्ता अल्मल्याउने कुरा नगरी मेरो आफ्नो परमकल्याणका लागि ‘कर्म या ज्ञान कुन मार्ग श्रेयष्कर छ ?’ तपाईंले नै निश्चय गरिदिनुहोस्’ भनी श्रीकृष्णलाई आग्रह गर्दै अर्जुन भन्दछन् :

‘व्यामिश्रेणेव वाक्येन बुद्धिं मोहयसीव मे ।
तदेकं वद निश्चित्य येन श्रेयोऽहमाप्नुयाम्’ ।। भ.गी.३(२)।।

यी संशयपूर्ण प्रश्नहरूको जवाफमा श्रीकृष्ण भन्दछन्:

‘लोकेऽस्मिन्द्विविधा निष्ठा पुरा प्रोक्ता मयानघ ।
ज्ञानयोगेन साङ्ख्यानां कर्मयोगेन योगिनाम्’ ।। भ.गी.३ (३)।।

अर्थात्, यो लोकमा दुई प्रकारका मार्गहरू हुन सक्दछन् भनेर नै मद्वारा सनातनकालदेखि नै भनिएको हो । ज्ञानीहरू ज्ञान (सांख्य) योगतिर अनि योगीहरू कर्मयोगतिर नै लाग्ने हुन् । अझ स्पष्ट पार्नुपर्दा मननशील व्यक्तिहरूका लागि ज्ञानमार्ग अनि क्रियाशीलहरूका लागि कर्ममार्ग श्रेयष्कर रहन्छ । तर, ती मार्गहरू प्रतिस्पर्धी भने होइनन्, बरु एकअर्काका परिपूरक नै हुन् ।

आजको विश्वमा एकै पटक ज्ञानमार्गमा हाम फाल्नु असम्भव नै नभए तापनि अव्यावहारिक भने पक्कै नै होला । अतः क्रमैसँग तिनको अभ्यास गर्नुपर्ने हुन्छ । कर्मयोगको साधना गर्ने व्यक्तिले निष्काम कर्म गर्दै जाँदा उसमा रहेका पूर्वसञ्चित वासनाहरूको क्षयीकरण हुँदै जान्छ जसले उसको चित्तको निर्मलीकरण गर्दछ । विस्तारै उसमा एकाग्रता अनि स्थिरताको विकास हुन्छ अनि ऊ ध्यान धारणा गर्न समर्थ बन्दछ, अन्ततः ज्ञान प्राप्त गरी आत्मसाक्षात्कार गर्न सक्दछ । कर्मयोगले अन्तःकरण शुद्धि गर्दछ भने ज्ञानयोगले अन्ततः आत्मानुभूति गराउँदछ ।

अतः कर्मयोगको क्रमिक साधनाले मात्र कुनै पनि व्यक्तिले ज्ञानमार्गमा प्रवेश पाउने क्षमता राख्दछ । सामुद्रिक छालसरह क्षणिक नै रहन्छन् कर्मयोगका अभ्यास तर क्रमिक रूपमा गरिने ती अभ्यास साधन बन्न सक्दछन्, ज्ञानयोगरूपी विशाल समुद्रमा आवद्ध भई अन्ततः मुक्ति पाउनका लागि । त्यस्तै, कुनै पनि वनस्पतिमा फूल नफूली फल लाग्दैन । कर्मयोग फूल फुल्ने प्रक्रिया हो भने फल लाग्नु त्यसको अन्तिम लक्ष्य अर्थात् ज्ञानयोगमा समाहित भएसरह हो ।

कर्मबिना जीवन चल्नै नसक्ने धारणा अभिव्यक्त गर्दै श्रीकृष्ण अगाडि भन्दछन् :

‘न हि कश्चित्क्षणमपि जातु तिष्ठत्यकर्मकृत् ।
कार्यते ह्यवशः कर्म सर्वः प्रकृतिजैर्गुणैः’ ।।भ.गी.३(५)।।

प्रकृतिका त्रिगुण (सात्विक, राजसिक अनि तामसिक) को प्रभावमा परेको मानिस कहिल्यै पनि कर्म नगरी निष्क्रिय रहन सक्दैन । शरीरले शारीरिक काम गरिरहेको समयमा मनले विचार अनि बुद्धिले चिन्तनको काम गरिरहेको हुन्छ । अतः कर्मलाई त्याग्न सम्भव छैन, फेरि यसो गर्नु प्रकृतिको नियमविरुद्ध नै पनि हो ।

आफ्नो कर्तव्य कर्म गर्नका लागि अर्जुनलाई प्रोत्साहित गर्दै श्रीकृष्ण अगाडि भन्दछन् :

‘नियतं कुरु कर्म त्वं कर्म ज्यायो ह्यकर्मणः ।
शरीरयात्रापि च ते न प्रसिद्धयेदकर्मणः’ ।। भ.गी.३(८)।।

कर्मै नगरी बस्नुभन्दा कर्म गर्नु नै श्रेयस्कर छ । निष्क्रियताले शरीर निर्वाह पनि सम्भव हुँदैन । शरीरका अंगहरू, जस्तैः मुटुले रक्तसंचार, फोक्सोले श्वासप्रश्वास, ज्ञानेन्द्रीयहरूले ‘दृश्य, श्रव्य, गन्ध, स्वाद, स्पर्श’ ग्रहण गर्ने काम, अनि कर्मेन्द्रीयहरूले ‘चाल, हिँडाइ, पाचन, निष्कासन, प्रजनन्’ आदि कर्ममा भाग नलिने हो भने शरीर कसरी ज्यूँदो रहन सक्ला त ? संसाररूपी समुद्रमा फालिएको मान्छे नपौडीकन (कर्म नगरी) बस्दछ भने ऊ समाप्त हुँदैन र ? अतः कर्मको समाप्ति नै मृत्यु हो । शरीरले गर्ने जीवननिर्वाहका कर्महरूभन्दा माथि उठेर परिवार, समाज, राष्ट्रका लागि गर्नुपर्ने कर्तव्यकर्मको महत्त्व त झन् अझै कति हो कति ?

कर्मेन्द्रीयहरूलाई नियन्त्रण गरे तापनि मानसिक चिन्तन या स्मरणमा भोगविलासतिर मात्र लगाइरहने व्यक्ति मिथ्याचारी नै हो । अतः मनसा, वचसा, कर्मणा अनाशक्त रही इन्द्रीयहरूलाई अनि मनलाई पनि वशमा राखेर कर्म गर्नु नै कर्मयोग हो भन्दै श्रीकृष्ण भन्दछन् :

‘यस्त्विन्द्रियाणि मनसा नियम्यारभतेऽर्जुन ।
कर्मेन्द्रियैः कर्मयोगमसक्तः स विशिष्यते’ ।।भ.गी.३(७)।।

यही नै जीवन जिउने साँचो कला हो । यसरी कर्मयोगमा लागेको मानिसका लागि अन्ततः ज्ञानयोगको ढोका खुल्दछ अनि ऊ आत्मसाक्षात्कार या मोक्षको अधिकारी बन्दछ ।

स्वार्थवश गरिएका कर्महरूले वासनामा वृद्धि गर्ने अनि त्यसले मानिसलाई कर्मचक्रमा नै अल्मल्याइरहने सम्भावना रहन्छ । तर, सही उद्देश्यका साथ अनि निःस्वार्थ रूपमा गरिने निष्काम कर्म भने वासनारहित रहन्छ, त्यसरी गरिने कर्मलाई नै कर्मयोग मानिन्छ । अगाध श्रद्धा अनि समर्पण बुद्धिका साथ गरिने यी सबै कर्महरू ‘यज्ञ’ सरह मानिन्छन्, यसले कर्मबन्धनमा बाँध्दैन कसैलाई पनि, अनि यसरी कर्म गर्नेहरूले कर्मचक्रमा रुमल्लिन पर्दैन । यही तथ्यलाई पुष्टि गर्दै श्रीकृष्ण भन्दछन् :

‘यज्ञार्थात्कर्मणोऽन्यत्र लोकोऽयं कर्मबन्धनः ।
तदर्थं कर्म कौन्तेय मुक्तसङ्गः समाचर’ ।।भ.गी.३(९)।।

‘भूतकालमा भएगरेका कार्यहरूप्रतिको अहंकार’ को वशमा परी अथवा ‘भविष्यमा केही पाई पो हालिन्छ कि ?’ भनी स्वार्थजनित कामनाका साथ गरिने कर्मलाई नै आशक्तिपूर्ण कर्म मानिन्छ, यस्ता कर्महरू बन्धनकारी हुन्छन् । तर अहंकार एवं स्वार्थको वशमा नपरी फलाशक्ति नराखी समर्पण भावले विश्वकल्याणका खातिर गरिने कर्म भने ‘यज्ञ’ सरहका हुन्छन् ।

त्यस्ता यज्ञमय कर्म नै कर्मयोगका आधार हुन् । त्यसरी कर्मयोगका मार्गमा रहने व्यक्तिहरू कसरी ज्ञानमार्गको विपक्षी होलान् त ? ढिलोचाँडो तिनले ज्ञानयोग हासिल गरी छाड्दछन् । अतः कर्मयोग ज्ञानयोगको उचाइँमा लैजाने भर्‍याङ हो, कर्मयोगको क्रमिक साधनाले नै मानिसलाई अन्ततः आत्मज्ञानको शिखर आरोहण गर्ने समर्थता दिलाउँदछ, अनि अन्ततोगत्वा उसलाई मोक्षमार्गतिर नै लैजान्छ । यही नै अध्यात्ममय जीवनको लक्ष्य हो नि ! होइन र ?

यही कारण नै हो, परापूर्वकालदेखि नै हाम्रो सनातन धर्मले मानवजीवनमा चार आश्रमको व्यवस्था गरेको । यसमा जीवनको पूर्वार्ध कर्मयोगका लागि छुट्याइएको छ, लेखपढ गरी आफ्नो पेसा–व्यवसायका लागि आधार तयार गर्नका लागि पहिलो २५ वर्षको ब्रह्मचर्य आश्रम अनि विवाह आदि गरी सन्तानोत्पादन गर्ने अनि आफ्ना पितृ, परिवार, समाज अनि राष्ट्रका लागि कर्तव्यकर्म गर्नका लागि दोस्रो २५ वर्ष (२६ देखि ५०) को गृहस्थ आश्रम ।

यसरी कर्मयोगद्वारा आफ्नो कर्तव्यधर्म पूरा भइसकेपछि त्यो व्यक्ति ज्ञानप्राप्तिका लागि जीवनको उत्तरार्द्धमा बानप्रस्थ आश्रम (५१ देखि ७५ वर्ष) अनि त्यसपछि मोक्षमार्गको साधनाका लागि सन्यास आश्रम (७६ देखि १०० वर्ष)मा जान तयार हुन्छ ।

यसरी १०० वर्षको पूर्ण मानव जीवनलाई नै वैज्ञानिक तवरले विभाजित गरी कर्मयोगको अभ्यासद्वारा नै ज्ञानयोगको सिद्धि हुने आधार तयार हुन्छ भन्ने सटिक उदाहरण प्रस्तुत छ हाम्रै सनातन धर्म–परम्परामा । अतः ‘कर्म कि ज्ञान ?’ भन्ने विवादमा नफसीकन आफ्नो प्रारम्भिक जीवनलाई कर्मयोगको निरन्तर अभ्यासमा लगाई उत्तरार्द्धमा ज्ञानयोग अर्थात् आत्मज्ञानको ढोका खोल्नु नै हामी सबैका लागि श्रेयस्कर हो भनी मान्न सकिन्छ ।शिलापत्रवाट