मेरो प्यानल १३ मंसिरसम्मका लागि हो, त्यसपछि तेरोमेरो बिर्सनेछु : चन्द्र ढकाल

 

भागवत भट्टराई

चन्द्र ढकाल नेपाल उद्योग वाणिज्य महासंघका हालका एसाेसिएट उपाध्यक्ष हुन् । महासंघको सन् २०१४ देखि १७ को कार्याकालका लागि भएको निर्वचानमा सबैभन्दा बढी मत लिएर सदस्यमा जितेका उनी सन् २०१७ देखि २०२० को कार्यालमा भने दुवै प्यानलका साझा उम्मेदवार भए र सर्वसहमत रूपमा एसोसिएट उपाध्यक्ष भएका हुन् ।

आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका ढकालको पक्षमा अधिकांश पूर्वअध्यक्षहरू भने देखिएका छैनन् । तर निर्वाचन प्रचारप्रसारमा ढकाल आक्रामक रूपमा प्रस्तुत भएका छन् । उनै ढकालसँग महासंघको आगामी निर्वाचन केन्द्रित भएर भागवत भट्टराईले गरेको कुराकानी :

निर्धारित समयभन्दा करिब ८ महिनापछि एक प्रकारको जोखिम नै लिएर निर्वाचन केन्द्रित साधारणसभा गर्दै हुनुहुन्छ, सहमतिबाट नेतृत्व मिलाऔँ भन्ने प्रयास गर्नु भएन ?

नेपाल उद्योग वाणिज्य महासंघको ५४औँ साधारणसभा तथा निर्वाचन निश्चय पनि गत वर्षको चैतकाे अन्तिम सातामा हुनुपर्ने थियो । तर, कोरोना महामारी नियन्त्रणका लागि गरिएको लकडाउनका कारण त्यो कुरा सम्भव हुन सकेन । त्यसयता जेठ र साउनमा साधारणसभा र निर्वाचन गर्न मिति तय गरिए पनि हुन सकेन र अहिले ११ देखि १३ मंसिरसम्मका लागि नयाँ मिति निर्धारण गरिएको छ ।

मुलुक कोरोना संकटमा रहेको, कोरोनाले अर्थतन्त्र नै शिथिल बनेको तथा स्वास्थ्यसम्बन्धी जोखिमसमेत यथावत् रहेकाले यस्तो बेला हामीले निर्वाचन गर्दा संक्रमणको सम्भावना रहन्छ कि भन्ने चिन्ता स्वाभाविक पनि हो । तर, विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले लागू गरेको स्वास्थ्य प्रोटोकललाई पूर्ण पालना गरेर तथा सुरक्षाजन्य सामग्रीको उपयोग गरेर सरकारले दिएको सीमाभित्र रहेर हामी निर्वाचन गर्दै छौँ ।

निश्चय पनि यस्तो बेला सर्वसम्मत नेतृत्व चयन हुनुपर्दथ्यो र त्यो सर्वसम्मतिको पहल समयमै गरिनुपर्थ्यो । त्यसको भूमिका वर्तमान अध्यक्ष, निवर्तमान अध्यक्ष र भावि अध्यक्षले खेल्नुपर्ने थियो । तर, त्यो हुन सकेन र अहिले चुनावी प्रतिष्पर्धाबाटै नयाँ नेतृत्व चयनको प्रक्रिया अगाडि बढेको छ ।

महासंघजस्तो निजीक्षेत्रको प्रतिनिधिमूलक संस्थामा व्यवसायीले दिएको म्याण्डेटअनुसार तीनवर्षे कार्यकाल सकिइसकेको अवस्थामा समितिले लामो समय काम चलाउ नेतृत्व दिइरहनु उपयुक्त नरहेकाले हामीले बाध्यात्मक अवस्थामा निर्वाचन गर्न लागेका छौँ र कुनै पनि जीवन्त संस्थालाई निर्वाचनले थप गतिशील बनाउने भएकाले यसका सकारात्मक पक्ष पनि छन् । सकेसम्म सहमति गर्ने हो तर त्यो सम्भव नभए निर्वाचन नै हुनुपर्छ र हामी अहिले त्यही अभ्यासमा छौँ ।

तपाईंले सहमति गर्न खोज्नु भएन भन्ने आरोप छ नि ?

म कहिल्यै पनि सहमतिको विपक्षमा छैन । तर सहमतिको प्रयास किन र केका लागि अथवा कसले र कुन समयमा गर्‍यो भन्ने कुराको अन्तर्य बुझ्नु आवश्यक हुन्छ । करिब एक वर्षअघि जब मैले वरिष्ठ उपाध्यक्षको उम्मेदवार बन्ने निधो गरिसकेको थिएँ, त्यति बेला नै सहमतिको प्रयास गरेर अगाडि बढेको भए हामीबीच अहिलेको अवस्था आउने नै थिएन । म आफैँ उम्मेदवार भएकाले सहमति गरौँ भन्नुको अर्थ अर्को पक्षलाई छाड भन्ने बुझिने भएकाले त्यसमा अगुवाइ गर्न सकिनँ ।

तर, जो अध्यक्षको पदमा सुनिश्चित भइसक्नुभएको छ र जसले महासंघलाई नेतृत्व गरिरहनुभएको छ, उहाँहरूबाट बेलैमा सहमतिको पहल भएको थियो भने सहमतिको सम्भावना पनि थियो । तर, यो बीचमा कस्तोसम्म खेल भयो भन्ने जगजाहेर नै छ र त्यसमा मैले सहमतिको प्रस्ताव लिएर जानु एकखाले आत्मसमर्पण पनि हुने भएकाले म आफैँ अग्रसर नभएको पक्कै हो । यसका पछाडि मलाई देशैभरका र सबै क्षेत्रका साथीहरूको साथ र समर्थन भएर पनि हो भन्ने लुकाउन चाहन्नँ ।

महासंघको विधानअनुसार सन् २०२३ देखि २०२६ को अध्यक्षका लागि तपाईंहरू प्रतिस्पर्धा गर्दै  हुनुहुन्छ, तपाईंले जित्दा वा हार्दा महासंघमा कस्ताे प्रभाव पर्छ ?

अहिलेसम्म हामीले विधि फेरे पनि प्रवृत्ति फेर्न सकेनौंँ ।

महासंघमा वरिष्ठ उपाध्यक्षको व्यवस्था नै तीन वर्षपछिका लागि नेतृत्व विकास होस्, उसले योजनावद्ध ढंगले काम गर्न सकोस् र निर्वाचन परिणामको तात्तातो तुष पनि नरहोस् भन्ने पवित्र उद्देश्यले गरिएको हो । अहिलेसम्म हामीले विधि फेरे पनि प्रवृत्ति फेर्न सकेनौँ । वरिष्ठ उपाध्यक्षहरू कुनै गुटका नहुन् र महासंघको साझा नेतृत्व बन्न सकून् भन्ने हाम्रो चाहना केवल चाहना मात्र रह्यो ।

निर्वाचनअघि हामी फरकफरक प्यानलको रहे पनि निर्वाचनपछि एउटै महासंघको छातामुनि रहेर काम गर्नेछौँ र विगतका तीतामीठा सबै अनुभवलाई बिर्सेर नयाँ चुनौती सामनाका लागि एकतावद्ध भएर अगाडि बढ्नेछौँ ।

महासंघभित्रको अहिलेको अवस्थाले समग्र निजीक्षेत्र नै प्रभावित भएकाले अब हार्नेले सबै बिर्सेर जित्नेलाई सहयोग गर्ने र जित्नेले पनि अहम् र पूर्वाग्रह त्यागेर सबैलाई समेटेर अगाडि बढ्नुको विकल्प छैन । यसैले अब विगतको गल्तीबाट हामी सबैले पाठ सिकिसकेकाले भोलिका दिनमा महासंघले प्रभावकारी ढंगले निजीक्षेत्रको आवाज मुखरित गर्न सक्षम हुनेछ । महासंघजस्तो स्वयम्‌सेवी संस्थामा कसैको हारजीत प्राविधिक कुरा मात्र हो, यसलाई जिम्मेवारीसँग जोड्नु उचित हुनेछ ।

उम्मेदवारी घोषणाको क्रममा ढकाल टिम ।

महासंघ विगतमा पूर्वअध्यक्षहरू दुई प्यानलमा देखिने गरेका थिए । अहिले त अपवादबाहेक तपाईंको विपक्षमा देखिनु तपाईंको कमजोरी कि प्रतिस्पर्धीको सक्षमता ?

महासंघका सबै पूर्वअध्यक्षहरूप्रति मेरो सधैँ सम्मान छ भने महासंघलाई यो अवस्थामा ल्याइपुर्‍याउन उहाँहरूले निर्वाह गर्नुभएको भूमिका कसैले चाहेर पनि मेट्न सक्दैन । पूर्वअध्यक्षहरूसहित पूर्वपदाधिकारी तथा कार्यकारिणी समितिका सदस्यहरू एवं सचिवालयका साथीहरू सबैको प्रयासले नै महासंघ अहिलेको अवस्था आइपुगेको हो भने यसमा प्रत्येक सदस्यको पसिना तथा सम्पूर्ण निजी क्षेत्रको आस्था पनि छ ।

पूर्वअध्यक्षहरू कुन समूहमा हुनुहुन्छ भन्नेभन्दा पनि उहाँहरूले छाडेको विरासत धान्न सक्ने नेतृत्व क्षमता कसमा छ र नवीन कार्यशैलीका आधारमा महासंघलाई नयाँ उचाइमा पुर्‍याउने क्षमता कससँग छ भन्ने विषयमा इमानदारीपूर्वक आत्मसमीक्षा गर्नुभयो भने त्यहाँ अवश्य पनि म र हाम्रो टिम मात्र रहनेछ ।

यसैले सबैको सामूहिक लगानीले नै महासंघ आज सरकारदेखि विदेशी संघसंस्थाले पत्याउने तथा मुलुककै एउटा धरोहर संस्थाका रूपमा स्थापित भएको अवस्था छ । रह्यो उहाँहरूको समर्थनको कुरा, निर्वाचनमा दुवै पक्षलाई कहिल्यै समर्थन गर्न सकिँदैन । उहाँहरू प्राविधिक कारणले कुन समूहमा हुनुहुन्छ भन्नेभन्दा पनि उहाँहरूले छाडेको विरासत धान्न सक्ने नेतृत्व क्षमता कसमा छ र अहिलेको अवस्थामा त्यति मात्र नभई फेरिएको चुनौतीबीच नवीन कार्यशैलीका आधारमा महासंघलाई नयाँ उचाइमा पुर्‍याउने क्षमता कससँग छ भन्ने विषयमा इमानदारीपूर्वक आत्मसमीक्षा उहाँहरूले गर्नुभयो भने त्यहाँ अवश्य पनि म र हाम्रो टिम मात्र रहनेछ । यसैले उहाँहरूको भित्री हृदयको सद्भाव र शुभेच्छाले नै हाम्रो टिम महासंघको नेतृत्वमा पुग्नेछ ।

तपाईंका मतदातालाई बताइदिनुस्, चन्द्र ढकाल किन महासंघको वरिष्ठ उपाध्यक्ष हुनु आवश्यक छ ?

यसको मूल्यांकन मैलेभन्दा पनि आमव्यवसायी साथीहरूले नै गर्नुभएको छ । कोरोना महामारीकै बेला आममानिस घरबाट बाहिर निस्किन डराइरहेका बेला र आफैँ पनि संक्रमणमुक्त भएपछि स्वास्थ्यले त्यति धेरै साथ नदिँदा नदिँदै पनि म हालै सुदूरपश्चिमको धनगढीदेखि पूर्वको धनकुटासम्म भ्रमणमा गएँ । त्यस क्षेत्रका जिल्ला नगर उद्योग वाणिज्य संघहरूसँग मात्र नभई स्थानीय उद्योगी व्यवसायी साथीहरूसँग पनि प्रत्यक्ष भेटेर मैले उहाँहरूको अवस्थाको बारेमा जानकारी लिइरहेको छु ।

म सातै दिन २४सै घन्टा उहाँहरूको सुख-दुःखमा साथ रहन्छु भने काठमाडौंमा रहेर वस्तुगत तथा एसाेसिएटका साथीहरूसँग पनि वर्षौंदेखि सँगै अगाडि बढिरहेको छु । अहिले व्यवसायमा थोरै सफलता हात पारे पनि मैले आफ्नो धरातल बिर्सेको छैन । म साना मझौला व्यवसायीको पीडादेखि ठूला उद्योगी व्यवसायीसम्मका पीडालाई सहजै बुझ्न सक्छु र तिनको समाधानका लागि नीति निर्माताका ढोकासम्म पुर्‍याउने क्षमता राख्दछु । यति मात्र नभई अन्तर्राष्ट्रिय अनुभवका आधारमा मैले राज्य र निजीक्षेत्रको साझेदारीमा आर्थिक विकास गर्न सकिन्छ भनेर राज्यलाई ठोस, वस्तुपरक र व्यावहारिक सुझाव दिने क्षमता राख्दछु । हाम्रो टिम पनि उस्तै सक्षम र सबल छ ।

जित्ने आधार के–के छन् ?

पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमको दार्चुलासम्मका व्यवसायी साथीहरूको आग्रहमा नै म उम्मेदवार बनेको हुँ । इतिहासका पाना पल्टाएर हेर्नुभयो भने म आफैँ महासंघ कार्यकारिणी समितिमा एक कार्यकाल निर्विरोध सदस्यका रूपमा प्रवेश गरेर अर्को कार्यकाल सबैभन्दा बढी मत ल्याएर निर्वाचित सदस्य तथा त्यसपछिको निर्वाचनमा निर्विरोध निर्वाचित उपाध्यक्षका रूपमा रहेको छु । गत निर्वाचनमा शेखर गोल्छाजी र किशोर प्रधानजी वरिष्ठ उपाध्यक्षका रूपमा प्रतिस्पर्धा गरिरहनु हुँदा दुवैको रोजाइमा म नै थिएँ र स्वाभाविक रूपमा निर्विरोध निर्वाचित भएँ ।

महासंघमा रहेर मैले यसको प्रतिष्ठा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बढाउन भूमिका खेलेको आमसदस्य साथीहरूलाई थाहा छ भने वस्तुगत र एसाेसिएट क्षेत्रमा म आफैँ प्रत्यक्ष संलग्न रहेकाले त्यहाँ मेरो र हाम्रो समूहको बलियो उपस्थिति रहेको प्रष्ट छ । जिल्लानगर उद्योग वाणिज्य संघका साथीहरूले वर्षौंपछि हामीले खोजेजस्तै नेतृत्व पाउने भयौँ भनिरहनुभएको छ । यी सबै मेरो र हाम्रो समूहको विजयका आधार हुन् ।

भावी अध्यक्ष एक प्यानलमा खुलेको अवस्थामा यदि तपाईंले निर्वाचन जित्नुभयो भने त काममा असर गर्ला नि ?

मैले अघि पनि भनिसकेँ कि १३ मंसिरसम्म हामी दुई प्यानल भए पनि १४ गतेदेखि महासंघ एउटै प्यानल हो । आमव्यवसायीका समस्या समाधान र मुलुकको दिगो आर्थिक विकास मात्र यसको एजेण्डा हो । मेरो स्वभाव कसैसँग वादविवाद गरेर समय खेर फाल्नेभन्दा पनि हामीलाई प्राप्त अमूल्य समयलाई कसरी हुन्छ उपलब्धिमूलक बनाउने नै हो । काम गर्ने क्रममा कोही कसैबीच कार्यशैली नमिल्न सक्छन् तर हाम्रो उद्देश्य एउटै भएपछि त्यसमा समस्या रहँदैन । अर्कोतर्फ शेखरजी र म लामो समयदेखि एउटै टिममा थियौँ भने काममा ठूलो समस्या होलाजस्तो लाग्दैन ।

अलिक फरक पाटोतर्फ लागौँ, महासंघभित्र उद्योगीभन्दा व्यापारी बढी भए, जसको प्रभाव देशभित्र औद्योगिक वातावरण सिर्जना गर्नुको साटो आयातमा रमाउने कार्यमा बढी लबिङ गरियो भन्ने टिप्पणी गरिन्छ, तपाईंले कसरी लिनुभएको छ ?

यो कुरा लामो समयदेखि उठ्दै आएको छ । मुलुकको दिगो आर्थिक विकासका लागि उत्पादनमूलक उद्योगको आवश्यक छ र अझ त्यसमा पनि स्वदेशी कच्चा पदार्थको अधिकतम उपयोग जरुरी छ भन्नेमा सायदै कसैको बिमति होला । तर, अहिलेको ग्लोबलाइजेसनमा प्रतिस्पर्धी क्षमता भन्ने पनि हुन्छ भने अर्कोतर्फ उपभोक्ताको रुचि उनीहरूले खोज्ने गुणस्तरलगायतका विषयमा पनि उत्तिकै विचार गर्नुपर्ने हुन्छ ।

जुन देशमा जुन क्षेत्रको प्रतिस्पर्धी क्षमता बढी छ, उसले त्यही गर्ने हो । सबै मुलुक सबै वस्तुमा आत्मनिर्भर हुन सक्दैनन् । हाम्रो लागि जलविद्युत्, पर्यटन, कृषि, खानी, सेवामूलक क्षेत्रलगायतमा सक्षम छ भने उत्पादनमूलक क्षेत्रमा केही कमजोर देखिन्छ । तर पनि साना मझौला र घरेलु उद्योग र प्रविधिको भने हामी धनी भएकाले त्यसबाट पनि हामीले रिकभर गर्न सक्छौँ । यसैले मैले भन्न खोजेको कुरा के हो भने मुलुकमा उत्पादनभन्दा आयातमुखी अर्थतन्त्रको वर्चस्व रहेका बेला हामीले एकैपटक यसलाई रूपान्तरण गर्न सक्दैनौं र यसलाई विस्तारै परिवर्तन भने गर्नैपर्छ । रह्यो महासंघमा गएर लबिङ गर्ने कुरा, त्यो भने त्यति सम्भव नहोला । महासंघले जे गर्छ, त्यो पारदर्शी रूपमा गर्ने भएकाले आजको यत्रो सूचना प्रविधिको युगमा लुकाएर पनि लुक्न सक्दैन भने कसले कुन स्वार्थका आधारमा लबिङ गरिरहेको छ भन्ने सहजै ट्रयाक गर्न सकिन्छ ।

कोभिड–१९ ले अर्थतन्त्र कमजोर भएको छ, सरकारले कुनै ठोस स्टिमुलस प्याकेज घोषणा नै गरेन, राहत भनेर दिइएका छुट पनि कार्यान्वयन भएनन् भनेर व्यवसायीहरूले हरपल गुनासो गरिरहँदा छाता संगठनले पहल त गर्न सकेन नि, आखिर अहिले पनि तपाईं पदाधिकारी नै हो ?

यसमा हाम्रो केही कमजोरी भएकै छन् । महासंघमा समयमा निर्वाचन हुन नसक्दा पुरानो नेतृत्वले त्यति गम्भीर भएर चासो नलिने र नयाँ आउनेमा पनि म किन अहिल्यै अघि सर्ने भन्ने सोच रहेको हुन सक्छ । कोभिडबाट उत्पन्न समस्या हाम्रा लागि असामान्य भइसकेको छ ।

राज्यले अर्थतन्त्र पुनरुत्थानका लागि स्टिमुलस प्याकेज नल्याउँदाका समस्या एकातिर छन् भने अर्कोतिर राज्यले दिने भनेका पुनर्कर्जालगायत अन्य सुविधाका पनि कार्यान्वयनमा व्यावहारिक समस्या उत्तिकै छन् । बजेट र मौद्रिक नीति पछिका समस्याका विषयमा त झन छलफलसमेत हुन सकेको छैन । यसैले यतिबेला हाम्रो सम्पूर्ण ध्यान कोभिडबाट सिर्जित समस्यमा केन्द्रित हुनु जरुरी छ । हामी निजीक्षेत्र एकजुट भएर यो समस्या समाधान गर्न लाग्यौँ भने समाधान असम्भव छैन । यसैले महासंघको यो निर्वाचनपछि हामीले यसमा गम्भीर समीक्षा गरेर अगाडि बढ्नु आवश्यक छ ।

नेपालका उद्योगी व्यवसायी र त्यसको छाता संगठनको हिसाबले महासंघका आगामी चुनौती के-के हुन् ?

पहिलो चुनौती त कोभिडबाट सिर्जित समस्याको सम्बोधन नै हो । हाल कोभिड–१९ विरुद्ध भ्याक्सिन निर्माणले सफलता प्राप्त गरिरहेकाले त्यसलाई बेलैमा नेपालमा ल्याएर यहाँको अर्थतन्त्र र जनजीवनलाई सामान्य अवस्थामा फर्काउनु आवश्यक छ । यसबाहेक कोभिडले क्षतविक्षत् पारेको अर्थतन्त्रलाई माथि उकास्न राज्य र निजीक्षेत्रको संयुक्त प्रयास पनि आवश्यक छ ।

यससँगै हाम्रा परम्परागत समस्याहरू जस्तैः लगानीमैत्री वातावरण, श्रम सम्बन्ध, जग्गाप्राप्ति, वातावरण, भन्सार तथा करका दरहरूलगायत समग्र क्षेत्रमा पुनर्संरचना आवश्यक छ । निजीक्षेत्रका विभिन्न संघसंस्थाहरूबीच समग्र आर्थिक एजेण्डामा न्यूनतम् सहमतिलगायतको नेतृत्व महासंघले नै लिनुपर्ने अवस्था छ । यस्तै, महासंघ आर्थिक विकासका लागि सरकारको अवैतनिक सल्लाहकारसमेत भएकाले थिंक ट्यांकमार्फत रचनात्मक सुझाव दिनुपर्ने देखिन्छ । यसलाई चुनौतीभन्दा पनि काम गरेर देखाउने अवसरका रुपमा लिनु आवश्यक होला ।

अन्त्यमा, निर्वाचनमा हारजित त भइहाल्छ, जित्दा तपाईंका आगामी योजना के-के छन् ? हार्दा कस्तो भूमिका निर्वाह गर्नुहुन्छ ?

निर्वाचनको परिणामलाई सबैले स्वाभाविक रूपमा लिनुपर्छ । मैले जितेँ भने अहिल्यै नेतृत्वमा पुग्ने नभई अध्यक्षको अनुपस्थितिमा काम गर्ने र कार्यकारिणी समितिलाई सफल बनाउने भूमिकामा नै रहनेछु । सँगसँगै आफ्नो कार्यकालमा गर्नुपर्ने नवीन योजना निर्माणको खाका तयारी र अध्ययनमा केन्द्रित रहनेछु । महासंघलाई संघीय संरचनाअनुसार रुपान्तरण गर्ने, विधान संशोधन गरी व्यावहारिक र समयानुकूल बनाउने तथा देशैभरका साथीहरूसँग नियमित अन्तर्क्रिया गरेर नेतृत्वको आभाष दिने काम मैले गर्नेछु ।

शिलापत्रवाट