सिन्धुली । ‘बिहान खीर खाने । मकैको खीर । बालकदेखि वृद्धसम्म जसले खाए पनि हुन्छ । पकाउने तरिका म सिकाउँछु’– त्यसपछि विनोद तामाङले सिकाउन थाल्नुभयो । सिक्नेहरु छन् ४५ जना ।

मकैको खीर बनाउने तरिका सिकेर सहभागीहरु दंग भए । त्यसपछि विनोदले खसीको थेक्कर पकाउन सिकाउनुभयो ।

थेक्कर भनेको तपाईंलाई थाहा छ ? विनोदको प्रश्न थियो । सहभागीले जवाफ दिन सकेनन् । विनोदले नै भन्नुभयो– ‘थेक्कर भन्ने भाषा हामीले भुल्यौं, छाड्यौं । अंग्रेजीमा ग्रेभी भन्यो भने सबैले बुझ्छन्, थेक्कर भन्यो भने बुझ्दैनन् ।’

खसीको मासुको थेक्कर बनाउने गजबको काइदा पनि सिके सहभागीहरुले । यो प्रशिक्षण हो सिन्धुलीको कमलामाई नगरपालिका भिमानमा । सहीद ऋषिराज देवकोटा आजाद स्मृति प्रतिष्ठानले दुधौली नगरपालिका र कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा यो तालिम चलाएको हो । तालिम दिने विनोद चाहिँ सेफ एसोसिएसन नेपालबाट जानुभएको हो ।
बुधबार विनोदले विभिन्न परिकार बनाउन सिकाउनुभयो । अनि, ती परिकार सहभागीहरुले स्वाद मानीमानी खाए ।

‘मैले धेरैलाई तालीम दिएँ’– सनराइज खबरसँग विनोदले भन्नुभयो– ‘हाम्रो सेफ एसोसिएसनले नेपाली खाना प्रवर्द्धन गर्छ । हाम्रा परम्परागत र मौलिक खानाहरु अत्यन्त स्वस्थ्यकर र उत्कृष्ट छन् । त्यस्ता खानाहरु पकाउन सिकाएँ ।’

तीन दिने तालीमको पहिलो दिन मंगलबार सैद्धान्तिक ज्ञान दिइएको थियो । खानेकुरा पकाउन र खाजा घर चलाउन सिक्न आएका कतिपयले आफूहरुलाई सैद्धान्तिक ज्ञान चाहिँदैन पनि भन्दै थिए । तर, सैद्धान्तिक ज्ञानले खाजाघर बारे आफ्नो अवधारणा नै फेरिएको बताउनुहुन्छ रमेश पोखरेल ।

रमेशले ती वर्ष खाजाघर चलाउनुभयो राजमार्गमा, सिन्धुलीको रानीवासमा । सडक विस्तारको क्रममा खाजाघर राखिएको घर भत्काउन पर्यो । केही महिनादेखि उहाँको खाजाघर छैन । तर, एकदुई महिनाभित्र खोल्ने योजनामा हुनुहुन्छ ।

‘तालीम धेरै उपयोगी भयो, यति उपयोगी होला भन्ने सोंचेकै थिइनँ’– रमेशको भनाई छ । खाजाघरको सरसफाई, औजारहरुको सरसफाई, पकाउने तरिका, ग्राहकलाई खानेकुरा दिने तरिका सबै सिकेको र सबै नौलो लागेको रमेशको भनाई छ ।

‘मैले खाजा घर गर्ने ठाउँमा महंगो खानेकुरा शायद नबिक्ला’– रमेशले भन्नुभयो– ‘तर बारा बिक्छ जस्तो लागेको छ, त्यो बनाएर बेच्छु ।’

अब आफूले खोल्ने खाजाघर पहिलेजस्तो नहुने, धेरै फरक हुने विश्वास उहाँले व्यक्त गर्नुभयो– ‘धेरै कुरा सिकियो, धन्न यो तालीममा आएछु ।’

तालीम आयोजक संस्थाका कार्यक्रम संयोजक सुवास देवकोटाले स्थानीयलाई स्वरोजगार बनाउन यो तालीम आयोजना गरिएको हो । गाउँबजारका ससाना खाजाघरको गुणस्तर वृद्धि गर्न सकियो भने त्यसले ज्ञान र सीपको विस्तार हुने र आयआर्जन पनि हुने उहाँले बताउनुभयो । सिन्धुलीका राजमार्गका खाजघरहरुलाई देशकै नमूना बनाउने उद्देश्य आफूहरुले लिएको र त्यसका लागि तालीम आयोजना गरिएको उहाँले बताउनुभयो । ‘हामी स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न चाहन्छौं’– उहाँको भनाई छ ।

‘कतिपय साथीहरुले जाबो खाजाघर चलाउने पनि तालीम हुन्छ र भन्दै हुनुहुन्थ्यो तर तालीमको दोस्रो दिन आइपुग्दा यो तालीम सहभागीहरुको जीवन परिवर्तन गर्ने खालको हुने मलाई लागेको छ’– सुवासको भनाई छ ।

तालीममा सहभागी कतिपयले अहिले पनि खाजाघर चलाइरहेका छन् भने कतिपयले खोल्ने विचार गरेका छन् । खाजघर खोल्न चाहनेहरुले यो तालीम वरदान भएको टिप्पणी सनराइज खबरसँग गरे ।

‘खाजाघर खोल्न चाहनेहरुलाई यो तालीम अत्यन्तै उपयोगी हुन्छ, खाजाघर चलाइरहेकाहरुलाई पनि उपयोगी हुन्छ’– सेफ विनोद भन्नुहुन्छ । उहाँको भनाई छ– ‘खाजा घर खोलेर मात्र हुँदैन । प्रतिस्पर्धा धेरै छ । हामीले नेपाली परिकारलाई प्रवद्र्धन गर्नुपर्छ । सेफ एसोसिएसनबाट हामी यही काम गरिरहेका छौं ।’

बिहीबार तालीमकाे अन्तिम दिन अरु धेरै परिकार बनाउन सिकाइने भएकाे छ ।