सगरमाथासँगै नेपालकाे उचाइ पनि बढेकाे छ – प्रधानमन्त्री ओली

 

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वकाे सर्वाेच्च शिखर सगरमाथासँगै नेपालकाे उचाइ पनि बढेकाे बताउनुभएकाे छ ।सगरमाथाका नयाँ उचाइ सार्वजनिक भएसँगै भिडियाे सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेसँगै नेपालको उचाइ पनि बढेको बताउनु भएकाे हाे ।

सगरमाथाकाे उचाइ अब ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर कायम भएकाे छ । मंगलबार दिउँसो नेपाल र चीनले संयुक्त रूपमा भर्चुअल विधिबाट पत्रकार सम्मेलन गरेर सगरमाथाकाे नयाँ उचाइ सार्वजनिक गरेका हुन् । यसअघि सगरमाथाकाे उचाइ ८ हजार ८ सय ४८ मिटर कायम मानिँदै आइएकाे थियाे ।

प्रधानमन्त्री ओलीले सगरमाथाको उचाइ बढि विश्वसनीय, भरपर्दो र यथार्थमा आधारित होस् भनेर नेपाल र चीनले संयुक्त रुपमा मापन गरेका बताउनुभयाे । नेपालका हिमाल नयाँ र विकास हुने क्रममा रहेकाले उचाइ पनि बढ्नु स्वभाविक भएको पनि प्रधानमन्त्रीले बताउनुभयाे । सगरमाथाकाे उचाइ बढ्नु सबै नेपालीका लागि खुशीकाे कुरा भएकाे प्रधानमन्त्रीले बताउनुभयाे ।

उहाँले भन्नुभयाे  – ‘नयाँ उचाइकाे तथ्यांक उचाइ बढेर हुन सक्छ वा  विगतकाे उचाइकाे मापन उपयुक्त संयन्त्र विधि र मूल्यांकन समुचित ढंगले हुन नसकेर हुन सक्छ, तर आज जसरी हाेस उचाइ बढि भएकाे तथ्य सार्वजनिक भएकाे छ, याे खुशीकाे कुरा हाे, हाम्राे देशकाे उचाइ पनि ८६ सेन्टिमिटरनए माथि उठेकाे छ ।’

नेपाल-चीन संयुक्त टाेलीलाई कष्टसाध्य काम गरेर नयाँ उचाइकाे तथ्यांक निकालेकाेमा प्रधानमन्त्री ओलीले धन्यवाद् दिनुभयाे । प्रधानमन्त्री ओलीले उचाइकाे बाटाेमा अग्रसर हुन सबैलाई आग्रह पनि गर्नुभयाे ।

नेपालले पहिलाे पटक आफ्नै साधन, स्रोत र नेपाली प्राविधिकहरुलाई नै सगरमाथाको चुचुरोमा समेत पठाएर उचाइ मापन गरेको हाे । नापी विभागका अनुसार नेपाल र चीनले आ-आफ्नै ढंगले उचाइ मापन गरेका थिए । उचाइ सार्वजनिक भने नेपाल र चीनले संयुक्त रूपमा गरेका हुन् ।

 

सगरमाथाकाे उचाइसँगै देशकाे उचाइ पनि बढेकाे छ : हामी सबैलाई बधाई । नेपाल- चीन संयुक्त टाेलीलाई कष्टसाध्य मेहनतका लागि धन्यवाद । pic.twitter.com/KUkmbEBW5L

— K P Sharma Oli (@kpsharmaoli) December 8, 2020