उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा गोपीकृष्ण न्यौपाने

 

काठमाडौं ः उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा गोपीकृष्ण न्यौपाने नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले न्यौपानेलाई चार वर्षका लागि महाप्रबन्धकमा नियुक्त गरेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले न्यौपानेसहित तीनजनाको नाम सिफारिस गरेको थियो । मन्त्रालय अन्र्तगतको सिफारिस समितिले पौष ५ गते उदयपुर सिमेन्टको महाप्रबन्धकका लागि वर्णानुक्रम अनुसार ३ जनाको नाम सिफारिस गरेको छ । वर्णानुक्रम अनुसार भक्तपुर ठिमीका न्यौपाने पहिलो नम्बरमा थिए । त्यसपछि दोस्रोमा काठमाडौं ज्ञानेश्वरका धुर्वबहादुर देवकोटा र तेस्रोमा कपिलवस्तु वाणगंगाका भुपेन्द्रप्रसाद अर्यालको नाम सिफारिसममा परेको थियो ।

न्यौपानेसहित उदयपुरको महाप्रबन्धकमा भुपेन्द्रप्रसाद अर्यालको नाम पनि चर्चा थियो । वर्णानुक्रममा उनको नाम तेस्रोमा रहेपनि न्यौपानेका प्रतिष्पर्धी उनी देखिएका थिए । दोस्रो नम्बरमा रहेका धुर्वबहादुर देवकोटा उदयपुर सिमेन्टमै कार्य गरेको अनुभव भएपनि त्यहाँ रहदाँ उनको कार्यसम्पादन चित्त बुझ्दो नभएको उनी प्राथमिकतामा थिएनन् । सरकारले पहिलो नम्बरमै रहेका न्यौपानेलाई महाप्रबन्धकमा नियुक्त गरेको उद्योग मन्त्रालयले जनाएको छ ।