चित्रवहादुर केसी घोराही आउदै

घोराही । राष्ट्रिय जनमोर्चाले पौष २३ गते दाङको घोराहीमा विरोध सभा गर्ने भएको छ । सभालाई सो पार्टीका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्ने दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले जानकारी दिएका छन् ।

आज एक विज्ञप्ति मार्फत् आचार्यले सो कुराको जानकारी दिएका हुन् । सो पार्टी गणतन्त्रको रक्षा, धर्म निरपेक्षता र राष्ट्रियताको रक्षा गर्न कृयाशील रहेको छ भने संघीयता र भ्रष्टाचारका विरुद्धमा विभिन्न अभियानहरु चलाइरहेको छ । अहिले सो पार्टीले ओली नेतृत्वको सरकारले संसद विघटन गरेर असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगामी र अधिनायकवादी कदम चालेको भन्दै देशव्यापीरुपमा विरोधमा उत्रिएको छ ।

विरोध र्याली दिउँसो १२ बजे घोराहीको ट्राफिक चोकदेखि सुरु भएर तुलसीपुर चोक पुगेर सभामा परिणत हुने सो पार्टीले बनाएको छ । कार्यक्रममा सहभागी बनेर देशको तात्कालिक अवस्था र पार्टीका धारणा सुन्नको लागि सहभागी हुन सम्पूर्ण उद्योगी, व्यापारी, शिक्षक, कर्मचारी, विद्यार्थी, मजदुर, किसान, पत्रकार, नागरिक समाजलाई आग्रह गरिएको छ ।