देशब्यापी अभियानमा प्रधानमन्त्री ओली

 

काठमाडौं, पुस २३ । जनताको चाहनाबिपरित प्रचण्ड र माधव नेपालले गर्न खोजेको ‘कू’ रोक्न प्रतिनिधिसभा बिघटन गरी नयाँ निर्वाचनको मिति घोषणा गर्नुभएका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली चुनाव घोषणा भएपछि जनता बुझाउन देशव्यापी अभियानमा सक्रियतापुवर्क लाग्न थाल्नुभएको छ ।

उपप्रधानमन्त्री तथा सचिवालय सदस्य इश्वर पोखरेल, गृहमन्त्रीसमेत रहनुभएका सचिवालय सदस्य रामबहादुर थापा, महासचिव तथा अर्थमन्त्री बिष्णु पौडेलसहित शंकर पोखरेल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापासहितका नेताहरुलाई मैदानमा खटाउनु भएका प्रधानमन्त्री ओली अव आफै सक्रियताका साथ मैदानमा उत्रन लाग्नुभएको हो । संगठन विस्तार र सुदृढीकरणमा खटिएको नेकपाका देशभरका नेताहरुलाई अझै हौसला प्रदान गर्न प्रधानमन्त्री ओली शुक्रबारबाट देश दौडाहामा निस्कन लाग्नु भएको हो । प्रधानमन्त्री ओलीले देशब्यापी अभियानको शुरुवात सुदुरपश्चिम प्रदेशबाट गर्दै हुनुहुन्छ । सुदुरपश्चिम प्रदेशको धनगढीमा शुक्रवार आयोजित कार्यक्रमलाई उहाँले सम्बोधन गर्नुहुने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले आफू सरकारको नेतृत्व सम्हालेदेखि नै पछाडि परेको क्षेत्रलाई प्राथमिकता दिदै आउनु भएको छ । गत चुनावमा आर्थिक समृद्धि र विकासको योजना बनेर जनतामाझ जानु भएका ओलीलाई काम गर्न बिचैमा अवरोध खडा भएपछि फेरी जनतामाझ जाने निर्णय लिनुभएको हो ।त्यही विकास र समृद्धिको आफ्नो यात्रामा अघि बढ्नका लागि उहाँले आफू फेरी जनतामाझ आएको सन्देश दिनुहुनेछ । सुदरपश्चिम केही पिछडिएको भएकाले त्यहाँका जनतालाई विकास र समृद्धिका लागि आफ्नो थप योजना राख्नका लागि ओलीले काठमाडौ बाहिरको आफ्नो कार्यक्रमको थालनी सुदुरपश्चिमबाट गर्न लाग्नुभएको हो । आवश्यकता अनुसार अन्य प्रदेशका कार्यक्रममा पनि सहभागी हुनुहुनेछ ।

प्रधानमन्त्री ओलीले अहिले आफ्नो मन्त्रिपरिषदमै पनि सुदुरपश्चिमलाई उच्च प्राथमिकता दिनुभएको छ । पछिल्लो पटक मन्त्रिपरिषदमा सो प्रदेशबाट ४ जना मन्त्री हुनुहुन्छ । विगतमा कर्णाली, सुदुरपश्चिम भनेर हेपिने, सरकारमा कुनै प्रतिनिधित्व नै नगराउने खालको गतिविधि पनि हुन्थे । अहिले ओलीले विगतका सरकारहरुका त्यस्ता प्रचलन तोड्नुभएको छ । सुदुरपश्चिमलाई प्राथमिकता दिँदा ओली मन्त्रिपरिषदमा उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी, वन तथा वातावरणमन्त्री प्रेम आले र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना हुनुहुन्छ । एउटै क्याबिनेटमा सुदुरपश्चिमबाट मात्र यति धेरै मन्त्री भएको यो नै पहिलो पटक हो ।

सुदुरपश्चिम क्षेत्र विकास र नेपालको सुरक्षाका हिसाबले पनि रणनीतिक महत्वको छ । त्यसैले प्रधानमन्त्री ओलीले यो क्षेत्रमा समस्यालाई राम्ररी पहिचान गर्नुभएको प्रधानमन्त्री सचिवालयका एक सदस्यले जनताटाइम्सलाई बताए । प्रधानमन्त्री ओलीकै कार्यकालमा सुदुरपश्चिमकै दार्चुलाको कालापानी क्षेत्रमा बर्षौैदेखि मिचिएको नेपाली भुभाग पनि नेपालको नक्सामा फिर्ता ल्याउने काम भएको छ । उहाँले त्यही क्षेत्रका जनप्रतिनिधि समेत रहेका गणेशसिंह ठगुन्नालाई मन्त्री बनाएर त्यहाँका आम जनताको मनोबलमा हौसला प्रदान गर्नुभएको छ ।

बन मन्त्री प्रेम आले केपी ओलीले नै यस क्षेत्रका सबै तप्काका जनताको सम्मान गरेकोले उत्साह भरिएको बताउनु हुन्छ । सुदुरपश्चिमले अहिले जति केन्द्रमा स्थान कहिले पनि नपाएको भन्दै मन्त्री आलेले त्यसको मुख्य दोषी नै भीम रावल रहेको बताउनु भयो । ‘रावल सधैं आफ्नो लागि मात्र माग्ने प्रवृत्ति रहिरह्यो । उपप्रधानमन्त्री, मन्त्री सबै आफूलाई माग्ने, नपाए धम्क्याउने गर्दा पार्टीलाई फुटतिर धकेल्नुभयो । सुदुरपश्चिमका जनता त्यस प्रवृत्तिको विरोधमा छन् । अब रावलले निकै हार बेहोर्नुपर्नेछ,’ मन्त्री आलेले भन्नुभयो ।

त्यसो त प्रधानमन्त्री ओलीले काठमाडौं बाहिर पहिलोपल्ट सम्बोधन गर्न सुदुरपश्चिमको धनगढी रोजेर जनतालाई विशेष प्राथमिकता दिन खोज्नुभएकोमा नेता, कार्यकर्ता पंक्तिमा ठूलो उत्साह आएको छ । नेकपाभित्र सुदुरपश्चिममा प्रत्यक्ष अन्तर्गत केन्द्रमा १४ सिट रहेकोमा १० सिट ओली पक्षधर छन । भिम रावल, झपट रावल, डा.दिपक भट्ट र प्रचण्डका बुहारी विना मगर मात्र बिभाजनतिर लाग्नुभएको छ । यो सबै पार्टी फुटाउने प्रवृत्तिको विरोध र भीम रावलको व्यक्तिगत कार्यशैलीका कारण भएको भन्दै नेता, कार्यकर्ता ओली पक्षमा लागेका हुन ।