सञ्चार सिद्धान्तको आँखामा केपी ओलीको अद्भुत भाषणकला

 

चेतन अधिकारी-

विवादै छैन– नेपालमा सर्वाधिक प्रभावशाली वक्ता–भाषणकर्ता केपी शर्मा ओली नै हो । उहाँको अभिव्यक्ति, प्रस्तुति, ज्ञान र बौद्धिकताको विरोधीहरुले पनि तारिफ नगरी सुखै छैन ।

‘ओलीको बोली बन्दूकको गोली’ भन्ने गरिन्थ्यो केही वर्ष अगाडिसम्म । खासगरी माओवादीले हिँसा गरिरहेको बेला । हिँसाको काउन्टर ओलीले बोलीबाट गर्नुहुन्थ्यो । ओलीको बोली बन्दूकको गोली भनेर जनस्तरमा प्रचलित शब्दावलीले पनि बुझिन्छ– ओलीको बोलीलाई कति प्रभावकारी रुपमा समाजले ग्रहण गरेको छ भन्ने ।

सबैले भन्छन्– ओली असाध्यै राम्रो भाषण गर्नुहुन्छ । तर, राम्रो भाषणको स्रोत के हो ? यसमा चाहिँ धेरैले ध्यान दिएको देखिँदैन । रोचक शैलीले मात्र राम्रो भाषण हुँदैन । यसका लागि चाहिन्छ अथाह ज्ञान, लामो अनुभव, तिक्ष्ण अनुभूति क्षमता, वैचारिक प्रष्टता… आदिआदि ।

मानिस विचारमा प्रष्ट छैन भने उसको अभिव्यक्ति प्रभावशाली हुँदैन । केपी ओलीको विचारमा प्रष्टता छ । समकालीन अन्य नेताहरु जेजे विषयमा प्रष्टसँग बोल्न सक्दैनन्, बोल्न चाहँदैनन् या बोल्न डराउँछन्, त्यस्ता विषयमा पनि ओलीले ठाडो र प्रष्टसँग विचार राख्नुहुन्छ । यसको उदाहरण हो हालै दुई भारतीय मिडियालाई ओलीले दिनुभएको अन्तर्वार्ता ।

नेपाल भारत सम्बन्धमा त्यति खरो, प्रष्ट र स्पष्टसँग विचार राख्ने हिम्मत नेपालका दिग्गज नेताहरु कसैले गर्दैनन् । लोलोपोतो गर्छन, कुरा चपाउँछन्, जिब्रो बटार्छन्, प्रश्नलाई नै छल्छन् । तर, केपी ओली अर्कै कोटीको नेता हो । कोही रिसाउँछ कि भनेर प्रश्नबाट भाग्ने, कोही रिसाउँछ कि भनेर बोल्न डराउने नेता होइन ओली । नेपाल भारत सम्बन्धका बारेमा त्यति प्रष्ट र नेपालको हितको पक्षमा कडा अडान सहित कोही पनि प्रधानमन्त्री अहिलेसम्म बोलेका छैनन् । ओलीले बोल्नुभयो । त्यसैले उहाँको अभिव्यक्ति अहिले चर्चित छ ।

केपी ओलीको भाषण शैलीका बारेमा चर्चा गर्दा नेपाली नेताहरुको सञ्चार शैलीको अलिकति सैद्धान्तिक चर्चा गर्नु उचित होला ।

परीक्षाको त्यो प्रश्न

सन् २०११ मा पूर्वाञ्चल विश्वविद्यालयले लिएको स्नात्तकोत्तर पहिलो सेमेस्टर आम सञ्चार तथा पत्रकारिता विषयको परीक्षामा एउटा प्रश्न यस्तो थियो– ‘नेपालका राजीनीतिक नेताहरुले गर्ने गरेको आन्तरिक सञ्चार प्रणाली कस्तो लाग्छ..?’

म पनि परीक्षार्थी थिएँ । पत्रकारितामा आफ्नो अनुभवका आधारमा उत्तर लेखेको थिएँ । आमसञ्चारका विभिन्न माध्यममध्ये आमसभा पनि एउटा हो । जनताले के सुन्न चाहेका छन् ? भीड कस्तो प्रकारको छ ? भीडको मानसिकता के छ ? यस्ता विषयमा ध्यान नदिई अधिकांश नेपाली नेताले आमसभामा बोल्ने गरेका छन् । वक्ताले सम्बन्धित ठाउँको भौगोलिकता र जनजीवन बारे पर्याप्त जानकारी नराखी बोल्छन् । जसले गर्दा उनीहरुका अभिव्यक्तिले दर्शक स्रोतालाई प्रभाव पर्दैन । नेताले भनेको कुरा दर्शक स्रोताको दिमागमा बस्दैन ।

सञ्चारको सिद्धान्त अनुसार स्रोत अर्थात् वक्ताले भन्न खोजेको कुरा प्रापक अर्थात् स्रोताले प्रष्टसँग बुझ्न सक्दैन भने त्यसलाई सफल सञ्चार मानिँदैन । स्रोत र प्रापक बीच विभिन्न किसिमका अवरोध हुनसक्छ । अवरोधका कारण स्रोतले एकथोक भन्न खोजेकोमा प्रापकले विपरीत वा अर्कै ढंगले बुझिदिन सक्छ । नेताले बोलेको कुरामा जनताले ताली बजाउँछन् भने राम्ररी सञ्चार गर्न सक्यो अथवा आफूले भन्न खोजेको कुरा स्पष्ट राख्न सक्यो भन्ने अर्थ लाग्दछ । नेताले बोलिरहेको बेला आउने तालीलाई पृष्ठपोषणको रुपमा लिन सकिन्छ । तर, तालीकै लागि भाषण गर्नु भने गलत हो ।

नेपाली नेताहरुमध्ये केपी ओलीको सञ्चार शैलीले सबैलाई प्रभावित गरेको मान्न सकिन्छ । ओलीमा भएको सञ्चारको विशिष्ट गुणले आम मानिस बीच उहाँका अन्तर्वार्ता र भाषण लोकप्रिय भएका हुन् । ओलीको सञ्चार क्षमता कति माथिल्लो कोटीको छ भने उहाँले मातृभाषा बाहेक अन्य भाषामा दिएका अभिव्यक्ति समेत प्रभावकारी ठहरिएका छन् । हालै उहाँले एउटा भारतीय मिडियालाई हिन्दी र अर्काेलाई अंग्रेजीमा अन्तर्वार्ता दिनुभएको थियो । ग्रैह्र नेपाली भाषामा दिइएका ती दुई अन्तर्वार्ताबाट नेपालको जनसमाज अत्याधिक प्रभावित भएको इन्टरेनट आधारित सामाजिक सञ्जाल हेरेर पनि थाहा पाउन सकिन्छ ।

केपी ओली प्रधानमन्त्री हुनुहुन्छ । त्यसैले उहाँलाई मन पराउने मान्छे पनि छन्, मन नपराउने पनि छन् । सबैखाले मानिस उहाँको सञ्चार सीपसँग प्रभावित छन् । उहाँलाई सबैले सुन्छन्, हेर्छन् । सर्वसाधारणले ओलीका कुरा मजाले बुझ्छन् र प्रतिक्रिया स्वरुप हाँस्छन् अथवा कुनै न कुनै प्रतिक्रिया दिन्छन् । सञ्चारको सिद्धान्तले यसलाई पृष्ठपोण भन्छ । जब सञ्चारकले सकारात्मक पृष्ठपोषण पाउँछ तब उसको सञ्चार प्रक्रिया सफल भएको मानिन्छ ।

ओलीले भाषणमा प्रयोग गर्ने विभिन्न कलाका कारण अडियन्सले उहाँको कुरा सजिलै बुझ्छन् र उद्वेलित हुन्छन्, हास्छन्, भावुक हुन्छन्, आक्रोशित हुन्छन् ।

ओलीले अघिल्लो पटक प्रधानमन्त्री भएर विदा हुँदै गर्दा ९ साउन,२०७३ मा संसदमा गर्नुभएको भाषणलाई यसको एउटा उदाहरण मान्न सकिन्छ । भाषणमा ओलीले विभिन्न ढंगले तत्कालिन माओवादीका अध्यक्ष प्रचण्डको चरित्र चित्रण गर्नुभएको थियो । त्यस मध्ये एउटा वाक्य थियो ‘अरुणा लामाले गाएको गीत जस्तो मेरा मित्रको मन टाल्ने मैले धेरै प्रयास गरें । तर बिहान एकातिर टालेर पठायो,बेलुका आउँदा अर्कोतिर मन उध्रिसकेको हुन्छ ।’ हाउभाउ सहितको ओलीको अभिव्यक्तिले स्वयं प्रचण्डले पनि हाँसो थाम्न सक्नुभएको थिएन ।

केपी ओलीको सञ्चार शैली किन प्रभावकारी छ त ? यस विषयमा निम्न बुँदा राखौं :–

आत्मविश्वास

कुशल सञ्चारकमा आत्मविश्वास चाहिन्छ । त्यस्तो आत्मविश्वास केपी ओलीमा देखिन्छ । सहि र सत्य कुरा बोल्ने स्वभावका कारण ओलीको आत्मविश्वास झन् बढेको मान्न सकिन्छ । आत्मविश्वास साथ विचार राख्नुहुन्छ । जसले गर्दा स्रोता वा दर्शक उहाँका कुरामा विश्वास गर्छन् । वक्ता आफैं अलमलमा पर्दा, झुठ कुरा प्रस्तुत गर्दा, सत्यबाट डगमगाउँदा भाषण प्रभावकारी हुँदैन । सैद्धान्तिक दृष्टिले भन्ने हो भने स्रोतले व्यक्त गरेको बिचारमा प्रापक विश्वस्त हुन सक्दैन ।

एजेण्डा स्थापित गर्न सक्ने

ओली जुन कुरा भन्नुहुन्छ त्यसलाई स्थापित गराउनु हुन्छ । कतिपय नेताले मिडियाका अजेण्डलाई समाएर भाषण गर्छन् । मिडियाले विभिन्न स्वार्थले अजेण्डा उठाएका हुन्छन् । अरुले समाजलाई भुलभुलैमा पार्न, समाजलाई गलत बाटोमा लैजान उछालेका अजेण्डा पहिचान गर्नु र त्यस्ता अजेण्डबाट बच्नु ओलीको विषेशता हो । बरु, उहाँले मिडिया मार्फत् समाजलाई नै अजेण्डा दिनुहुन्छ । आफ्नो अजेण्डा स्थपित गर्न एउटै कुरालाई बारम्बार उठाउनुहुन्छ । उही कुरा बारम्बार उठाउँदा फरक कोण र तरिकाले उठाउनुहुन्छ । जसले गर्दा मिडिया र समाजमा उहाका बिचारले आकार लिने गरेका छन् ।

जनजीब्रोका शब्द चयन

केपी ओलीले भाषण या अन्र्तवार्तामा बोल्नुहुँदा स्रोता दर्शकले के भन्न खोजेको बुझिएन भनेर गुनासोे गर्दैनन्् । जे भन्न खोजेको हो स्पष्ट शब्दमा भन्नुहुन्छ ।

२०६४ सालको निर्वाचनको बेला झापामा एकजना पत्रकारले उहाँलाई सोध्नुभएको थियो– ‘तपाईंका हरेक बोली टिप्न किन सञ्चार माध्यमले तछाडमछाड गरेका हुन् ?’ ओलीको जवाफ थियो– ‘म सत्य र स्पष्ट बोल्छु । चाहे त्यो आफ्नामा परोस वा अर्काकोमा, त्यसैले हो कि ?’

बालबालिकादेखि वृद्धवृद्धासम्मले ओलीको अभिव्यक्ति छर्लङग बुझ्छन् । हिमालदेखि तराईसम्मकाले बुझ्छन् । जुनसुकै उमेर र पेसावर्गकाले पनि बुझ्छन्, किसान मजदूले पनि बुझ्छन् । जस्तो कि : १८ पुष, २०७७ मा प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा ओलीले नयाँ खालको उपमा प्रयोग गर्नुभयो । ‘जसको गोठ उसको पुच्छर बाहिर ?’ पार्टी विभाजनको यो बेला यस्तो उपमाको अर्थ नबुझ्ने को होला र ?

कसैप्रति दयाभाव सहितको कटाक्ष गर्नुपर्दा ‘कठैबरी’ भन्ने शब्द प्रयोग गर्नुहुन्छ । यो शब्दको अर्थ नुबुझ्ने नेपाली को होला र ?

हाउभाउ 

केपी ओलीका हाउभाउले पनि भन्न खोजेको कुरा सम्प्रेषित गराउन तथा बुझाउन धेरै मद्धत गरेको हुन्छ । हाउभाउ सहितका तिख्खर टिप्पणीका कारण पनि उहाँका अभिव्यक्ति प्रष्टसँग बुझिन्छ । सञ्चारमा यसलाई ‘नन भर्बल कम्यूनिकेसन’ भनिन्छ । पछिल्ला दिनमा उहाँले माधव नेपाललाई कटाक्ष गर्दा दाहिने हात उठाएर हल्लाउदै भन्ने गर्नुभएको छ ‘म पदको लोभी होइन तर उधारो हुँदैन, हाताहाती चाहिन्छ ।’

रमाइलो प्रस्तुति 

केपी ओलीका बोलीवाणीले के झल्काउँछ भने उहाँ कुण्ठा पालेर बस्ने मानिस होइन । उन्मुक्त, उल्लासमय, आशावादी जीवन ओलीको स्वभाव हो । निराशा र नकारात्मक भावना ओलीमा देखिँदैन । त्यसैले हरेक कुरा रमाइलो ढंगले प्रस्तुत गर्नुहुन्छ । यसकारण उहाँका घण्टौं लामा भाषण पनि मानिसहरु एकाग्र भएर सुन्छन् ।

२०७४ को स्थानीय चुनावमा भरतपुर महानगरमा भएको कांगेस माओवादी गठबन्धनलाई ओलीले कटाक्ष गर्दै भन्नुभएको थियो– ‘कठैबरा कांग्रेस, छोरीलाई मेयर बनाउन चुईँचुईं काँधमा बोकेर हिडेको छ ।’

यस प्रकारको अभिव्यक्ति शैलीका कारण आम मानिसले उहाँले दिन खोजेको सन्देश सजिलै बुझ्ने गरेका छन् ।

अभिव्यक्तिमा स्थानीयता

केपी ओली जुन ठाउँमा भाषण गर्न जानुहन्छ, त्यहाँका दजर्नौं ठाउँ, दशौंजना मानिस, त्यहाँको उत्पादन, सांस्कृतिक पक्ष, आर्थिक पक्ष, सामाजिक पक्ष बारे स्थानीयले झैं व्याख्या गर्नुहुन्छ । देशको प्रधानमन्त्री वा ठूलो पार्टीको अध्यक्षले आफ्ना गाउँठाउँका बारेमा कुरा गरिदिँदा स्थानीयले नेताप्रति अपनत्व महशुस गर्छन् । जसरी आमसञ्चारका माध्यममा आफ्नोपन अथार्त आफ्नो गाउँठाउँको समाचारलाई ध्यानपूर्वक अध्ययन गरिन्छ । प्रधानमन्त्री ओलीको भाषणमा हरेक मानिसले स्थानीयताको आभाष पाउँछन् । २०७४ सालको संसदीय निर्वाचनमा केपी ओलीले  १ सय ८० वटा आमसभालाई सम्बोधन गर्नुभएको थियो । ती सम्बोधनमा हरेक ठाउँमा स्थानीय नेताले भाषण गरेसरी स्थानीय पहिचानको कुरा गर्नुभएको थियो । यसो गर्नु विशिष्ट खुबी हो ।

आमसञ्चारको सिद्धान्त अनुसार भाषण गर्दा त्यहाँको वातावरण कस्तो छ भन्ने कुरालाई मूख्य ध्यान दिनु पर्दछ ।  सुस्पष्ट, दोहोरो, मर्यादित र औचित्यपूर्ण आन्तरिक संवादलाई निरन्तर कायम गर्ने व्यक्ति वा संस्थाले मात्र आफ्नो उद्देश्य, अनुभव, उपलब्धि र सोचका बारेमा बाह्य जगतलाई जानकारी गराउन सक्छ । केपी ओलीले आमसञ्चारको प्रभावकारी विधि अवलम्बन गर्नुभएको देखिन्छ ।

मैले माथि आमसञ्चार तथा पत्रकारिताको परीक्षाको प्रश्नको चर्चा गरेको थिएँ । अहिले परीक्षा दिनुपर्‍याे र सोही प्रश्नको उत्तर लेख्नुपर्ने भयो भने केपी ओलीको अभिव्यक्ति शैलीको ब्याख्या गर्ने थिएँ । र, अन्त्यमा लेख्ने थिएँ– नेताको भाषण र सञ्चारकला  केपी ओलीको जस्तो हुनुपर्छ ।

सनराईज खवरवाट ।