सरकारकाे तीन वर्ष : ऐतिहासिक काम, विकासमा छलाङ

 

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको वर्तमान सरकार गठन भएको आज तीन वर्ष पूरा भएको छ । ०७४ फागुन ३ गते केपी ओली प्रधानमन्त्री नियुक्त हुनुभएकाे थियाे । ०७४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा चुनावबाट तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वामगठबन्धनले दुईतिहाइ बहुमत पाएकाे थियाे । साेही मतपरिणामअनुसार केपी ओली प्रधानमन्त्री नियुक्त हुनुभएकाे थियाे ।

संविधान कार्यान्वयन एवं विकास र समृद्धिको राष्ट्रिय आकांक्षासाथ गठन भएको सरकारले सुशासन र विकास निर्माणकाे क्षेत्रमा छलाङ मारेकाे छ । समृद्धिकाे यात्रामा अगाडि बढिरहेकाे छ । वर्तमान सरकारले भारतले लुटेकाे नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटेर मानचित्र जारी गरी संविधान संशाेधन समेत गरिसकेकाे छ ।

पूर्वाधार निर्माणमा तीव्रता, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार, भ्रष्टाचार नियन्त्रणमा सफलता, शान्तिसुरक्षामा सुधारका काम गरेकाे छ सरकारले । जलविद्युत्, सिंचाइ, सुरुङमार्ग, रेलमार्ग, जलमार्ग, अन्तर्राष्ट्रिय विमानस्थल, अन्तरदेशीय विद्युत् प्रसारण लाइन, पाइप लाइन, सडकमार्गमा गाैरवपूर्ण काम गरेकाे छ ।

वन, उड्डयन, पुर्ननिर्माण, पेट्राेलियम, सूचना र प्रविधिको क्षेत्रमा देशभर फोरजी र ब्रोडब्यान्ड सेवा विस्तार, मौलिक हकको कार्यान्वयनलगायत पूर्वाधार विकासमा गौरवपूर्ण काम गरेकाे छ । नेपाल सुरुङमार्गको युगमा प्रवेश गरेको छ । धनुषाको ढल्केबरमा देशकै ठूलो चार सय केभीको सब–स्टेशनको उद्घाटन भइसकेकाे छ ।

वन तथा वातावरण क्षेत्रबाट तीन वर्षमा ११ अर्ब ६५ करोड ९१ लाख ५७ हजार राजश्व संकलन गरेकाे छ । ऐन कानुन निर्माण र त्यसकाे कार्यान्वयनमा अगाडि बढिरहेकाे छ । प्रधानमन्त्री ओलीकै भाषामा भन्ने हाे भने याे सरकारले ऐतिहासिक काम गरेकाे छ । मुर्छित सपना विपनामा परिणत भइसकेका छन् । काेही हुने क्रममा छन् ।

विश्वव्यापी महामारीका रूपमा देखा परेकाे काेराेना भाइरस नियन्त्रणमा पनि सरकार सफल भएकाे छ । पूर्ण रूपमा नियन्त्रण नभएपनि सरकारले काेराेना देखिएकाे एक वर्षमै नागरिकलाई खाेप दिन सफल भएकाे छ ।

तर देश र जनताका लागि तिव्र गतिमा काम गरिरहेकाे सरकारलाई आफ्नै पार्टीका नेताले अवराेध गर्ने काम गरे । जसका कारण सरकारले लक्ष्य अनुरूप काम अगाडि बढाउन सकेन ।अवराेध र असहयाेगका बीचपनि सरकारले धेरै काम गरेकाे छ । राम्रा काम गरेकाे छ ।

सरकार गठनकाे ३ वर्ष पूरा भएकाे अवसर पारेर प्रधानमन्त्री ओलीले आज सम्बाेधन गर्दै हुनुहुन्छ । आज बिहान ११ बजे प्रधानमन्त्री ओलीले सरकारका मुख्य उपलब्धिहरूबारे जानकारी दिनुहुने उहाँका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयाे ।

सनराइज खबर