राजसंस्थाको विषयमा समय आयपछि छलफल गरौला । डा.लोहनी

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष,वरिष्ठ राजनीतिकर्मी,पूर्वअर्थमन्त्री, डा. प्रकाशचन्द्र लोहनी संग समसामयिक विषयवस्तुमा केन्द्रित रहेर अग्रणी डट कमका लागी सह–सम्पादक अनिल अधिकारी ले गरेको कुराकानिको सारसंक्षेपमा………….
अग्रणी वहसमा यहाँलाई स्वागत छ, ।
धन्यबाद !
दाङ आउनु भएको छ कुन सिलसिलामा दाङ आउनु भएको हो ?
राप्रपा जिल्ला कार्यसमिति दाङ द्वारा आयोजित ७१ औं प्रजातन्त्र दिवस एवम् पार्टी झण्डात्तोलन र चुनाव चिन्ह अनावरण कार्यक्रममा सहभागीका लागि म दाङ आइपुगेको हुँ । राप्रपाको निर्धारित कार्यक्रम अनुसार कार्यकर्ता भेटघाट एवम् छलफलमा सहभागी हुन र पार्टीको संगठन सुदृढीकरण अभियानमा भाग लिने उद्देश्यअनुरुप दाङ आएको हुँ ।
अहिले नेपाली राजनीति तरङ्गीत देखिएको छ ।
तरङ्गीत हुनुका पछाडि के कारण हुन सक्छन् ?
नेपाली राजनीतिक दलका नेताहरुको भनाई र गराइमा भिन्नता छ । उहाँहरु एउटा भाषा बोल्नुहुन्छ अर्को भाषा प्रयोग गर्नुहुन्छ । नेपाली राजनीतिकको सबै भन्दा ठुलो रोग यहि हो । नेपाली जनताले झण्डै दुई तिहाई वहुमत दिई सरकार चलाउन जनादेश दिदादिदै पनि उहाँहरुको जनचाहना अनुसार काम गर्न नसक्नु विडम्वना हो । अहिले देश अस्थिर भएको छ, भ्रष्टचार व्याप्त छ, विदेशीको चलखेल तीव्ररुपमा बढीरहेको छ, सत्तामा बसेका सिमित समूहले देशको दोहन गरिरहेका छन् । विकासे नारा दिनलाई खप्पीस सरकारले अहिलेसम्म कहिकतै प्रगती गरेको देखिदैन, आन्तरिक भागबण्डा नमिलेर कोहि सडकमा छन् भने कोहि सरकारमा छन् । देश अहिले जटिल अवस्थामा पुगेको छ, देशका ठुला दलहरुका कारण नै मुलुक दलदलमा फसिरहेको छ, यी यावत भए घटेका घटनाक्रमका कारण नै नेपाली राजनीति तरङ्गीत भएको हो ।
प्रधानमन्त्री ओलीले ताजा जनादेशका लागि भन्दै संसद विघटन गर्नु भएको छ । संविधानमा संसद विघटनको व्यवस्था छ ?
नेपालको संविधानमा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार दिइएको छैन । अहिले देशमा संवैधानिक संकट देखा परेको छ । प्रधानमन्त्री ओलीले अवैधानिक कदम चाल्दै संसद विघटन गरी निर्वाचनको मिति समेत घोषणा गर्नुभएको छ । प्रधानमन्त्रीले चालेको कदमका कारण राजनीतिक अस्थिरता देखा परेको छ । अहिले निर्वाचनको विषयमा सर्वोच्च अदालतमा वहस चलिरहेको छ । सम्मानित न्यायालयले जे निर्णय गर्छ, हाम्रो पार्टी राप्रपाले त्यसलाई सहर्ष स्विकार गर्छ ।
विगठित संघीय संसद पुनःस्थापना हुने सम्भावना छ ?
संसद पुनःस्थापना हुने या निर्वाचनमा जाने यसको छिनोफानो सम्मानित सर्वोच्च अदालतले गर्छ । नेपालका बुद्धिजीवि, नागरिक समाज, आमनागरिकले प्रधानमन्त्रीको कदमलाई अवैधानिक भनेका छन् । नेपाली कांगे्रसले पनि अवैधानिक कदम भनेको छ । न्यायालयमा वहस गर्ने वकिलहरुको भनाई पनि अवैधानिक छ तर सरकार पक्षका वकिलहरुले यसलाई वैधानिक भन्दै वहस गरिरहेका छन्। यस्तो अवस्थामा हाम्रो पार्टीको भनाई अदालतले जे निर्णय गर्छ त्यसलाई स्वीकार गर्ने हो ।
राजनीतिक दलभित्र बाह्रबुदे सहमतिलाई लिएर नेताहरु पक्ष÷विपक्षमा विभाजित भएकै कारण राजनीतिक संकट आई परेको भन्ने भनाईलाई तपाई के भन्नुहुन्छ ?
बाह्रबुदे सहमतीमा भएका सहमतीलाई उपेक्षा गरिएकै कारण पनि यो अवस्था आएको हुनसक्छ । सहमती अनुसार नेताहरु चल्न नसक्नुको परिणाम अहिलेको राजनीतिक अस्थिरता हो । एक पक्षले पूर्णरुपमा सहमतीको पालना गरौं भन्ने अर्को पक्षले गर्नु हुँदैन भनेकै कारण देशमा राजनीतिक संकट आएको हो । कतिपय नेताहरुले भागबण्डा नपाएकै कारण देशमा अस्थिरता ल्याउन खोजेको सत्य हो ।
राप्रपाले संवैधानिक राजसंस्थाको मुद्दा उठाएको छ । गणतन्त्रलाई पनि स्वीकार गर्ने राजसंस्था पनि चाहिन्छ भन्ने के यो न्यायोचित छ ?
राप्रपाले संवैधानिक राजसंस्थाको माग गर्नु न्यायोचित छ । राप्रपाले संविधान स्वीकार गरेको छ । संविधान भित्र भएका राम्रा पक्षलाई हामीले स्वीकार गरेका छौं, नराम्रा पक्षको विरोध गर्दै आएका छौं । राजसंस्था एकताको प्रतिक भएकै कारण हामीले त्यसको मुद्दा उठाएका हौं । हिजोको दिनहरुमा राजसंस्थाको विषयमा कुरा सुन्न नचाहनेहरुले पनि अहिले हिन्दुधर्म र राजसंस्थाको विषयमा वहस र छलफल गर्नुपर्छ भन्ने अभिव्यक्ति दिइरहनु भएको छ जो सकारात्मक छ । हामी प्राचीन संस्कृतिका परिपोषक र नविन उदारवादी राज्य व्यवस्थाका निर्माताको रुपमा उपस्थित भएका छौ । राप्रपाले जनताको चाहनाअनुसार नै संवैधानिक राजसंस्था र हिन्दुराष्ट्रको माग गरेको छ । ९४ प्रतिशत ॐकार परिवार मुलुकभित्र रहेका छन् जो संवैधानिक राजसंस्था र हिन्दुराष्ट्रप्रति आस्थावान छन् । आफ्नो धर्म, संस्कृति र परम्परा पहिचानको लागि जनताले राजसंस्था र हिन्दुराष्ट्रको माग गरेका हुन् । राप्रपा जनताको पार्टी भएकाले जनताको इच्छाअनुसार चल्ने गरेको छ । राप्रपाले विगतदेखि नै संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र कायम गराउनलाई सडकदेखि सदनसम्म आवाज उठाउदै आएको छ । राजसंस्था र हिन्दुराष्ट्र कायम गर्नका लागि हामीले विभिन्न कार्यक्रमहरु लिई जनता माझ पुगिरहेको व्यहोरा म यहाँहरुलाई अवगत गराउन चाहन्छु ।

तपाईले उठाउनुभएको संवैधानीक राजसंस्थाको प्रशंग राजा निर्वचित भएर आउने हो की राजाको छोरा राजा हुने व्यबस्था हो ?
विश्वका धेरै देशहरु राजा भएपनि विकशीत भएका छन । बेलायत, जापान जस्ता देशमा अहिलेपनि संवैधानीक राजतन्त्र रहेको छ । जहाँसम्म नेपालको सन्दर्भमा राजतन्त्रको सवाल छ त्यो विषयमा समय आयपछि छलफल गरौला ।

अहिलेको अवस्थामा तोकिएकै समयमा निर्वाचन हुन्छ ?
निर्वाचन हुन्छ हुँदैन यो विषयमा अन्यौलता छ । सरकार पक्ष वाहेक अन्य सबै पक्षले निर्वाचन हुँदैन भन्ने आँकलन गरिरहेका छन् । निर्वाचनको विषयमा सर्वोच्चमा वहस चलिरहेको छ । सम्मानित अदालतले जे निर्णय गर्छ त्यो हामीलाई सहर्ष स्वीकार छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको सांगठनिक अवस्थाका बारेमा बताईदिनुस् ?
राप्रपाको सांगठनिक अवस्था विगतमा भन्दा अझ मजबुत बन्दै गएको छ । राप्रपाले धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वका विषयलाई अंगाली रहेको छ । देशका ७७ जिल्लामा पार्टीको संगठन चुस्तदुरुस्त छ । नेता कार्यकर्ताहरु पार्टीको संगठन निर्माणमा क्रियाशिल रहेका छन् । देशभरी जनताको आर्कषण राप्रपातिर बढिरहेको छ । राष्ट्रवादीको मुल जरो राप्रपा भएकोले हामीलाई संगठन निर्माण गर्न अप्ठ्यारो भएको छैन । जनताको तन मनमा राप्रपा बस्ने विश्वास मैले लिएको छु । राप्रपाले सबैलाई सम्मान र अवसर दिएको छ त्यसैले जनताको मनमा राप्रपा बसेको छ र राप्रपाको संगठन दिनप्रतिदिन मजबुत हुँदै गईरहेको मैले महशुस गरेको छु ।
विद्यमान राजनीतिक अन्यौलताले मुलुकलाई कतातिर धकेलेको पाउनुभएको छ ?
विद्यमान राजनीतिलाई हेरेर आम विश्लेषण गर्न खोजियो भने सो अदुरदर्शीता हुन्छ, समयक्रम अनुसार त्यसको विश्लेषण गरिनुपर्छ । मुलुकको भविष्य त्यति उत्साहप्रद देखिएको छैन, तापनि भविष्यप्रति हामी सबै सकारात्मक आशावादी हुनुपर्दछ ।
दलहरुले गर्ने गरेको वेइमानीलाई यहा“ले कसरी सम्वोधन गर्नुहन्छ ?
राष्ट्रियताको सवालमा र मुलुकको समग्र विकासका लागि राजनीतिक दलहरुमा सहमति,सहकार्य हुन जरुरी देखिन्छ। दलप्रति जुन विश्वास लिएर नागरिक राजनीतिक परिवर्तनका लागि आन्दोलनमा होमिए परिणाम शुन्य पाए । दलहरुले सधै जनतालाई झुक्याउने र छक्याउने गर्नाले जनताको विश्वास दलप्रति घट्दै गएको मैले महशुस गरेको छु । जनचाहना अनुसार राजनीतिक दलले काम गर्न नसक्नु दुर्भाग्य बनेको छ । नेपाली जनताले आन्दोलनलाई सफलताको शिखरमा पु¥याए तर आन्दोलनको मर्म र भावनालाई संस्थागत गर्नेे कुरामा राजनीतिक दल चुकेकै कारण आज मुलुक राजनीतिक संकटमा परेको छ । दलको उदासिनताका कारण मुलुकमा गतिहीनता देखिएको छ । आम नेपालीमा निराश र उपेक्षा देखिएको छ । यसको अन्त्यका लागि राजनीतिक दल सच्चाइको बाटोमा हिड्न जरुरी छ ।
राजनीतिक अन्यौलताबाट निकास दिलाउने अचुक उपाय तपाईले केहि देख्नुभएको छ ?
मुलुकलाई राजनीतिक अन्यौलताबाट निकास दिलाउने अचुक उपाय भनेको सहमती र सहकार्य नै हो । देशलाई शान्त र समुन्नत बनाउन कुनै एक दलले सक्दैनन् त्यसको लागि सहमती र सहकार्यको आवश्यक्ता छ । देश निर्माणको लागि दुरदृष्टि भएका राजनेताहरुको खाँचो अहिले खट्कीरहेको छ । सबैलाई साझा र एकता प्रतिक चाहिएको छ । सहमति र सहकार्यबाट नै मुलुकले निकास पाउँछ भन्ने मेरो बुझाई हो ।
राजनीतिक संकट समाधानको लागि साना दलहरुको भूमिका के हुनुपर्छ जस्तो लाग्छ ?
देश व्यक्ति विशेष वा अमूक दलहरुको पेवा हुन सक्दैन जसले त्यो सपना देख्छ, त्यो ढिलोचाँडो आफै सकिन्छ । ठुला दलहरुले साना दलहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नपर्छ सहमती र सहकार्य गर्दै अघि वढेमा देश अनि जनताको कल्याण हुन्छ । ठुला दलले सरकार बनाई गरेका कामको मूल्याङ्कन जनताले गरिसकेका छन् ती दलहरुबाट जनचाहना अनुसार काम हुन सकिरहेको छैन । ती ठुला दलले जती कुरा गरेपनि जनताका न्यूनतम आवश्यकता पुरा गर्न नसकेको तपाई हामीसामु छर्लङ्ग छ । ती ठुला दलकै कारण जनतामा निराशा छाएको छ । म तपाईहरुलाई स्मरण गराउन चाहन्छु, २०५१÷०५२ सालको संसदीय निर्वाचनमा मुलूकको साँचो राप्रपाको हातमा थियो तर त्यो साँचो सधैभरी राप्रपासँग रहेन त्यहि नै देश र जनताको लागि दुर्भाग्य बन्यो अब मुलुकको नेतृत्व राप्रपाको हातमा आउने छ भन्नेमा हामी बिश्वस्त छौं ।
तमाम कार्यकर्तालाई केही सन्देश छ ?
देशको राजनीति अहिले तरङ्गीत भएको छ । देश जटिल मोडमा पुगेको छ, राष्ट्रियता माथि प्रहार भईरहेको छ, व्याप्त भ्रष्टचार बढेको छ, हत्या,हिंसा,बलत्कार जस्ता जघन्य अपराधका घटना दिनप्रतिदिन घटिरहेका छन् यसबाट हामी सचेत हुँदै सरकारलाई खबरदारी गर्नुपर्छ । देशको विकासका लागि राप्रपाको संगठन बलियो हुन जरुरी छ । राप्रपाका कार्यकर्ताहरुले व्यथिती र विसंगतीका विरुद्ध आवाज उठाउने बेला आएको छ । जनताको चाहना संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र कायम हुनुपर्छ भन्ने रहेको छ यसमा तपाईहरुको साथ र सहयोगको खाँचो हामीलाई रहिरहनेछ ।
१५. अन्त्यमा…………..
मलाई समसामयिक राजनीतिक विषय र राष्ट्रिय प्रजातन्त्र पार्टीका विषयमा मेरा विचारहरु राख्ने सु–अवसर दिनुभएकोमा तपाई लगायत अग्रणी डट कमलाई धन्यवाद !