राष्ट्रिय योजना आयोगका उपाध्यक्ष कँडेल र गाउँपालिका अध्यक्ष सेनवीच छलफल

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेल र गाउँपालिका राष्ट्रिय महासंघ कर्णालीका अध्यक्ष भिम बहादुर सेनविच विकास योजनाका विषयमा छलफल भएको छ । सल्यानको कपुरकोटमा भएको भेटमा  दाङ सल्यान सडकको दुरावस्थाका विषयमा छलफल भएको थियो ।

कपुरकोट गाउँपालिकाका अध्यक्ष समेत रहेको सेनले योजना आयोगका उपाध्यक्ष कँडेलललाई राप्ती लोकमार्ग जीर्ण भइ यात्रा कष्टकर भएको भन्दै नागरिकहरुले पटक पटक गुनासो गर्दा पनि स्तर उन्नती हुन नसकेको बताउनु भएको थियो । सेनले प्रश्न गर्दै भन्नुभयोे, तपाइले यो सडकको बेहाल देखिहाल्नुभयो, सडक राम्रो बनाउनेतर्फ हाम्रो सल्यानबाट प्रतिनिधित्व गर्ने माननीयज्युहरुको पहल हुन नसकेको हो की, राष्ट्रिय योजना आयोगको ध्यान पुग्न नसकेको हो ?

जवाफमा आयोगका उपाध्यक्ष कँडेलले प्रत्यक्ष रुपमा आफुहरुले विग्रीएको सडकको अनुगमन गरेकोले यसको सुधारका लागि तुरुन्तै काम अगाडी बढाउने प्रतिबद्धता जनाउनु भएको थियो । यसका लागि सडक डिभिजन दाङसंग आवश्यक छलफल गरिने उहाँको प्रतिवद्धता रहेको छ ।

यस्तै भेटमा प्रधानमन्त्री केपि शर्मा ओलिका विकास विज्ञ इन्जिनियर गजेन्द्र प्रसाद थपलियाले अव पहुँचको आधारमा नभइ आवश्यकताको आधारमा विकास हुने बताउनुभयो । प्रधानमन्त्री ओली नेतृत्वको सरकारले आवश्यकताका आधारमा विकास गर्ने नीति अवलम्बन गरेको विज्ञ थपलियाको भनाइ छ ।

सो क्रममा गाउँपालिका अध्यक्ष सेनले कपुरकोट गाउंपालिकाका केही महत्वपुर्ण योजनाहरु राष्ट्रिय योजना आयोगमा माग गर्नुभएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष कँडेलले प्राप्त योजनाहरु छनौट र कार्यान्वयनका लागि सकारात्मक प्रतिक्रिया दिँदै कार्यान्वयनमा प्रतिबद्धता जनाउनुभएको थियो । दिर्घकालिन महत्वका दुई वटा योजना यस आर्थिक वर्षमा सञ्चालन गरिने प्रतिबद्धता रहेको छ ।