अग्रगामी राष्ट्रवाद र नैतिकता

बंशी कुमार शर्मा
समाजिक रुपान्तरणको लागि युवा वर्गले धर्म संस्कृति,परम्परालाई जगेर्ना गर्दै समय अनुसार परिवर्तन गर्नू पर्दछ । कुनै पनि परिवर्तन एकै चोटि गर्दा त्यसको असर समाजमा नराम्रो पर्न सक्छ । तसर्थ क्रान्तिकारी चिन्तन बोकेका युवाहरुले मुलुकको भविष्यको सोच राख्दै आर्थिक भौतिक समाजिक रुपान्तरणको लागि विभिन्न संगठनमा आस्था राखे पनि साझा उद्देश्यको लागि विवाद नगरि एकै थलोमा बसेर वहस गर्न सक्ने वाणिको बिकास गरौ जस्ले गर्दा हाम्रो मुलुक अग्रगमन तिर जाने छ ।
मुलुक संकटले घेरिएको छ, यो अवस्था ल्याउनमा जो कुनै प्रकारले उत्तरदायी छैन, तर कुनै पनि अछुतो छैन । किनकि यो अवस्था ल्याउन राजनैतिक दल, संघ संस्था, नागरिक समाज, बुद्धिजिवी सबै उत्तिकै जिम्मेवार छन् जति राजनीतिक दल छन् । यस्तो संक्रमणको अवस्थाबाट गुज्रदै गरेको, कहालीलाग्दो दिनको प्रत्यक्ष प्रभाव युवा वर्गले भोग्नुपरेको छ जो प्रजातन्त्र पूनः स्थापना समयमा बालक थिए, गणतन्त्र स्थापना हुनेबेला युवा भए अहिले युवाहरु वयस्क भइसकेका छन् । ती वयस्क युवाहरुले आफ्नो अस्तित्व, राष्ट्रको अस्तित्व, आफ्नो संस्कृतिको अस्तित्व जोगाउने अवस्था आएको छ । आफू कुन धरातलमा उभिएको छ छुट्याउनु पर्ने भएको छ । निष्कलंक र निर्दोष युवा वर्गले राष्ट्रको अस्तित्व बचाउनु पर्ने भएको छ । किनकि अरु सबैको परीक्षा भइसकेको छ । यहिलेका दलका नेतृत्व व्यतित्वको पहिचान भैइसकेको छ । जनतालाई गुमाराहमा राख्दै देश चलाई रहेका छन । यि नेताहरुबाट थप आशा गर्न सकिने अवस्था देखिदैन समाजमा, राष्ट्रमा निर्दोषको संख्या अत्याधिक छ । तर अपराधीहरुसँग लड्न नसक्नेहरुको गणना गर्नुको के अर्थ रह्या जो कुनामा बसेर गुनासो मात्र गर्छ । अपराध सहनु र भोग्नु पनि त अपराध नै हो । त्यसैले भन्ने गरिन्छ अपराध गर्नुभन्दा अपराध सहने झन् ठूलो अपराधी हो ।
आज त्यस्तै हुन गएको छ नत्र भने समाजमा निर्दोषको संख्या धेरै हुँदाहुँदै पनि जताततै हत्या, हिंसा, बलात्कारको श्रृंखला बढ्दै गएको छ । यसको प्रतिकार गर्न नसक्नुको कारण मनोबल कमजोर हुनु हो । युवामा प्रतिकार गर्ने क्षमता क्षण हुनु हो । यो सबै अस्थिरताको कारणले हो । विश्वको इतिहास हेर्दा राष्ट्रलाई अग्रगामीतिर डो¥याउने वर्ग नै युवा हो । त्यसैले हाम्रो देशको सम्पूर्ण आशा र भरोसा पनि युवा वर्गमा नै छ । नेपालमा २००७ साल, २०४६ सालमा जति राजनैतिक परिवर्तन भयो त्यो सबै युवा वर्गको कारणले नै भएको हो । २०४६ सालमा परिवर्तन ल्याउने युवाहरुले ठूलो धोका खायो किनकि त्यो परिवर्तन २०५२ साल अर्थात छोटो अवधिमा असफल सिद्ध भयो । किनभने देशमा न भौतिक विकास हुन सक्यो न त सिद्धान्त र नैतिकतामा आधारित समाज व्यवस्था कायम भयो । गरिवीको रेखा निरन्तर बढ्दै गयो । नैतिकताको धरातल अद्योगामी भयो । परिवर्तन र त्यसको प्रतिक मानिएको संविधान हुने खानेका लागि मात्र भयो, धनी गरिबबीचको भेद बढ्दै गयो, नयाँ धनी पैदा भए, सामान्यजन देशबाट पलायन भए । गरिबलाई जीविकाको अधिकार प्राप्ति भएन र त्यसको लागि कुनै व्यवस्था पनि गरिएन र गर्ने पनि कुनै सोच थिएन ।
यी कारणहरुले गर्दा युवा वर्गले फेरि २०६२÷६३ आन्दोलन गरे नयाँ राजनैतिक परिवर्तन ल्याए । परिवर्तन पश्चात देशका सबै भू–भागमा क्षेत्र–जातिको नाममा संगठन खडा भए । जाति, क्षेत्रलाई राजनैतिक साघुरो घेराभित्र कैद गरी राजनैतिक दलहरु आफ्नो स्वार्थ पूरा गर्न तल्लीन देखिएका छन् । फेरि युवा वर्गलाई धोका दिने दाउमा छन् । किनकि राजनैतिक दलहरुले युवा वर्गलाई एकजुट हुन नदिनुको लागि र सधै युवाको काँधमा चढेर राजनैतिक स्वार्थ पूरा गर्नको लागि विभिन्न बहाना गर्र्दैछन् । युवा–युवाबीच रगतको होली खेलाउन युवा दस्ता गठन गर्नको लागि होडबाजी गर्दैैछन् । जसको परिणाम देश कहाली लाग्दो गृहयुद्धमा फस्ने सम्भावना छ । त्यसको परिणामको कल्पना समेत गर्न सकिदैन । जो आज यो देशको प्रमुख राजनैतिक दलहरुले गर्दैछन् । त्यसैले युवा वर्गहरु राष्ट्रको लागि सचेत हुने अवस्था आएको छ

किनकि आज यी राजनैतिक दलका नेतृत्व व्यक्तिहरुका कारणले गर्दा विश्वका महाशक्ति राष्ट्रहरुको प्रत्यक्ष अप्रत्यक्ष रुपले देश क्रिडास्थल बनेको छ । देशको अस्मिता लुटिएको छ । राष्ट्रमाथि प्रश्न चिन्ह खडा भएको छ । जनता निरह छन् । मुकदर्शक भएका छन् । त्यसैले सबैको आश्रय र साझा उद्देश्य राष्ट्र नै हो । राष्ट्रलाई चिन्तन र संगठनको केन्द्रविन्दु सम्झनु पर्दछ । राष्ट्र बाहेक अरु कुनै पनि विषय सबै नेपालीको साझा हुन सक्दैन । त्यसै विन्दुको वरिपरी नेपाली समाजलाई घुमाउने लक्ष्य लिनु पर्दछ । क्रान्तिकारी चिन्तन गर्नेले राष्ट्रहितको लागि धर्म, जाति, क्षेत्र, भाषाको आधारलाई छोड्नु पर्दछ । यी मध्ये कुनै एक वा अनेक आधार बोकेर हिड्ने व्यक्ति वा संगठन राष्ट्रवादी हुन सक्दैन र प्रजातन्त्रवादी पनि हुन सक्दैन । त्यसैले युवावर्गहरुले अग्रगामी राष्ट्रवादको लागि नेतृत्व लिन सक्नुपर्दछ र त्यो नेतृत्व राष्ट्रहितको लागि हुनुपर्दछ ।

समाजिक रुपान्तरण नभएर भौतिक विकासले मात्र मुलुक संमृद्धिशालि बन्न सक्दैन । समाजिक रुपान्तरणको लागि युवा बर्गले धर्म संस्कृति ,परम्परालाई जगेर्णा गर्दै समय अनुसार परिवर्तण गर्नू पर्दछ । कुनै पनि परिवर्तण एकै चोटि गर्दा त्यसको असर समाजमा नराम्रो पर्न सक्छ । तसर्थ क्रान्तिकारी चिन्तन बोकेका युवाहरुले मुलुकको भविष्यको सोच राख्दै आर्थिक भौतिक समाजिक रुपान्तरणको लागि विभिन्न संगठनमा आस्था राखे पनि साझा उद्देश्यको लागि विवाद नगरि एकै थलोमा बसेर वहस गर्न सक्ने वाणिको बिकास गरौ जस्ले गर्दा हाम्रो मुलुक अग्रगमण तिर जाने छ ।

वर्तमान सरकारले भ्रष्टाचार शुन्यशिलतामा झार्ने अठोट गरेको छ । प्रधानमन्त्री केपि शर्मा ओलीका हरेक भाषण, बोलीमा भ्रष्टाचार गर्दिन गर्न दिदैन भन्ने आइरहेका छन् । तर भ्रष्टाचारले संस्थागत रुप लिएको छ । स्थानीय तह देखि केन्द्रसम्मका हरेक नीकायमा भ्रष्टाचार भएका समाचारहरु दिनहु आईरहेका छन् । स्थानीय तहमा हुने बिकासका काममा अधिकांश रकम दुरुपयोग भएको समाचारहरुले स्थान लिएका छन् । विकासे कार्यालय हुन या सेवाग्राहि कार्यालय आर्थिक लेनदेन बिना काम संभव हुदैन । सामान्य नागरिक कुनै पनि अफिसमा काम गराउन जादा आर्थिक लेनदेनले बैधानिकता पाईसकेको जस्तो छ । यदि आर्थिक लेनदेन गरिदैन भने काम संभव छैन यो यथार्त तितो सत्य हो ।

सरकारले भ्रष्टाचार शुन्यतामा झार्ने भन्ने कुरा हास्यपद जस्तो भएको छ । भ्रष्टाचारका स्वरुप धेरै प्रकारका छन् यदि सरकारले भ्रष्टाचारलाई शून्यतामा झार्नुपूर्व आफु पनि सुध्रिन जरुरी छ । वास्तवमा आर्थिक लेनदेनमात्र भ्रष्टाचार होइन । आर्थिक भ्रष्टाचारमात्र भ्रष्टाचार होइन । भ्रष्टाचारका स्वरुप धेरै छन् । अनैतिक कार्य गर्नु, कर्मचारी समयमा अफिस नजानु, शिक्षक कक्षाकोठामा जान ढिलाइ गर्नु, सेवा प्रदान गर्ने निकायले राम्रो सेवा नदिनु, जनप्रतिनिधिहरुले जनताको भावना अनुरुप काम नगर्नु जस्ता अनेकौं ढिलासुस्ती लगायत ठग्ने प्रवृत्ति नै भ्रष्टाचार हो । स्थानीय तहका जनप्रतिनिधिहरु खुलम खुल्ला विकासका नाममा आर्थिक दुरुपयोग गरिरहेका छन् । सेवा प्रदान गर्ने निकायहरुले सेवा दिना आनकानि गरिरहेका छन् । यी सवै भ्रष्टाचार हुन ।

राज्य सञ्चालकले भ्रष्टाचार निर्मुल गर्नकोलागि मथिल्लो निकाय देखि तल्लो निकाय सम्म सुधार्नु जरुरी छ । भ्रष्टाचार ठहर भएपछि कानुनी कारवाहि भन्दा सामाजीक कारवाहि भएमा फेरि भ्रष्टाचार गर्ने आट गर्दैन र अ्ररुले पनि भ्रष्टाचार गर्ने हिम्मत गर्दैनन् । विडम्वना समाजमा भ्रष्टाचारीको सम्मान हुने भएकोले भ्रष्टाचार मौलाएको हो । समाजमा भैपरी आउने काममा ठुलो धनराशि चन्दा दिनेहरुको आयश्रोत नवुझि उसैलाई समाजले समाजसेबिको बिल्ला भिराईदिन्छ । इमान्दार निरीह हुन्छ । दुख गरेर कमाएको व्यक्तिलाई भन्दा अवैध रुपले धन आर्जन गर्नेहरुको जमातलाई नै समाजले सम्मान गरिरहेको छ । यहि नै समाजले बुझ्न नसकेको र समाजलाई बुझाउन नसकेको कुरा हो ।

आडम्बर र भौतिक संरचनामा देखिएको सुुख नै भ्रष्टाचारको जरो हो । जबसम्म मानिसमा शहनशिलता, नैतिकता र भौतिक सुखमा बाहेक अन्यत्र पनि आनन्द छ भन्ने ज्ञान आउदैन तबसम्म भ्रष्टाचारमा कमी हुदैन् । अन्याय गरेर कमाएको धनले मनमा शान्ति हुदैन र समाजमा किर्ति कमाउन सकिदैन । मृत्यु पश्चात् पनि सुख पाइदैन त्यसैले भ्रष्टाचारको जरो किलैदेखी ओखली नफाल्दासम्म समाज सुधार हुन सक्दैन । अहिले हाम्रो समाज, मुलकमा यस्तै व्यक्तिहरुको वर्चस्व बढ्दै गएको छ । यी व्यक्तिहरु समाजबाट बहिष्कृत नहुन्जेलसम्म समाज परिवर्तन गर्न सकिदैन । नैतिकता नै सर्वोपरी हो । नैतिकताले नै समाज परिवर्तन गर्न सकिन्छ ।