बसपार्कका टिकट काउन्टर बन्द

काठमाडौँ । गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर बन्द हुने भएको छ । आगामी बुधबार (वैशाख १ गते)देखि बन्द हुने भएको हो ।

बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरका रुपमा विकास गर्नका लागि केही समयका लागि बन्द गर्न लागिएको हो ।
नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले बसपार्कका काउण्टरलाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउन लागिएको बताउनुभयो ।

नयाँ बसपार्कभित्र हाल ३५ टिकट काउण्टर छन् । मर्मतको काम नसकिन्जेल आफ्नै व्यवस्थापनमा टिकट काट्न भनिएको छ ।
बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सवारी साधान गुड्छन् । काठमाडौँ महानगरपालिकाको स्वामित्वमा रहेको उक्त जग्गा विसं २०५६ मा महानगरपालिकाका तत्कालीन प्रमुख केशव स्थापित र प्रालिका अध्यक्ष गेहेन्द्रबहादुर कार्कीबीच ‘सार्वजनिक(निजी साझेदारी’अन्तर्गत सम्झौता गरेर नयाँ बसपार्क सञ्चालन भएको थियो ।
अध्यक्ष इञ्जिनीयर दीपक कुँवरले नयाँ बसपार्कलाई अन्तर्राष्ट्रियस्तरको बसपार्कको रुपमा विकास गर्न लागिएको बताउनुभयो ।
‘नेपालको एकमात्र राष्ट्रिय बसपार्कलाई सुविधासम्पन्न बसपार्कको रुपमा विकास गर्न लागिएको उहाँको भनाइ छ ।

प्रालिले यात्रुको सहजताका लागि कम्प्युटर प्रणालीको माध्यमबाट टिकट काट्ने व्यवस्था  गरेको छ । सरकारले लिएको नीतिअनुसार कोभिड १९ सङ्क्रमणको जोखिम घटाउन प्रविधिको प्रयोगलाई जोड दिएको छ।

क्युआर कोर्डमार्फत टिकटको भुक्तानी हुने व्यवस्था मिलाइएको छ । लक्ष्मी बैंक लिमिटेडको सहकार्यमा उक्त सेवा सञ्चालनमा ल्याइएको हो । काठमाडौँ महानगरपालिकाको स्वामित्वमा रहेको नयाँ बसपार्क १६१ रोपनी क्षेत्रफलमा सञ्चालित छ । उक्त बसपार्कमा एक हजार ५०० सार्वजनिक सवारी साधन पार्किङ गर्नसक्ने क्षमता छ।